राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफैंले समर्थन गरेको सरकारलाई लात्ती लगाएर फ्याँक्नुपर्ने अवस्था आएको भन्दै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्टि प्रकट गरेका छन् ।
आज ललितपुरको च्यासलस्थित तुलसीलाल आमात्य स्मृति प्रतिष्ठानको भवनमा पुष्पलाल स्मृति दिवसका अवसरमा बोल्दै अध्यक्ष केसीले ओली र राष्ट्रपति विद्यादेवी भण्डारीप्रति आक्रोशित बनेका हुन् ।
‘हामी कस्तो कम्युनिस्ट पार्टीको नेतृत्वमा पर्यौं ? त्यति गरेर जिताइयो, आफैंले समर्थन गरेको सरकारलाई लात्तीको पार लगाएर फाल्नुपर्यो । तिघ्रामा पिलो जम्यो भने त फाल्नुपर्यो,’ केसीले भने ।
उनले जनतालाई खोप चाहिएका बेला निवर्तमान सरकारले भोट हाल्न आउ भनेको स्मरण गरे ।
‘धारा ७६ को उपधारा ५ को व्यवस्था नगरेको भए, नेपाली जनताले माग्ने खोप, सरकार र राष्ट्रप्रमुखले ब्यालेट पेपर दिने हुने रहेछ,’ उनले भने ।