अब सवारीको राजस्व भुक्तानी अनलाइनबाट नै गर्न सकिने-Sutra News

अब सवारीको राजस्व भुक्तानी अनलाइनबाट नै गर्न सकिने

शुक्रबार, ८ साउन २०७८

शुक्रबार, ८ साउन २०७८

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज हेटौँडामा आयोजित प्रदेशमा सवारी साधनको राजस्व अनलाइन भुक्तानी गर्ने सूचना प्रणालीको उद्घाटन गरेका छन् ।



उनले हेटौँडा निवासी सवारी धनी चिन्तामणि फुयाँलले राजस्वबापत रु पाँच हजार अनलाइनमार्फत भुक्तानी गर्ने प्रविधिलाई क्लिक गरी शुभारम्भ गरे । समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले आफ्नो कार्य सम्पादनमा पारदर्शी ल्याई जनतालाई आर्थिक समृद्धितर्फ जोड्ने प्रमुख लक्ष्य रहेको बताएका छन् ।

 उनले प्रदेशका करिब २० लाख सवारी धनीलाई कम समयभित्र झण्झट व्यहोर्न नपर्ने गरी अनलाइनमार्फत राजस्व भुक्तानी गर्ने प्रविधिलाई शुभारम्भ गर्न पाएकामा प्रशन्नता व्यक्त गरे । मुख्यमन्त्री पौडेलले सङ्घीय राजधानी काठमाडौँलाई अब आर्थिक क्रान्तिका रुपमा जोड्ने कार्यमा भीमफेदी–कुलेखानी सुरुङमार्गको निर्माणलाई प्रदेश सरकारले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने र केही हप्ताभित्रै निर्माणका लागि अन्तरराष्ट्रिय बोलपत्रको स्वीकृति प्रदान गरिने उल्लेख गरे ।

उनले प्रदेश सरकारले इन्धनको प्रभावलाई न्यूनीकरण गर्ने उद्देश्यले प्रथम चरणमा काठमाडौँ उपत्यकालगायत सात स्थानमा विद्युत् बस खरिद गरी सञ्चालन गर्ने निधो गरिसकिएको र आगामी जेठ मसान्तसम्ममा विद्युतीय बस सञ्चालन गर्ने मन्त्रिपरिषद्को अठोट रहेको बताए ।

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारको प्रमुख स्रोतका रुपमा रहेको यातायात राजस्वलाई असुलीमा थप तीव्रता ल्याई गत आर्थिक वर्ष २०७७÷७८ मा रु नौ अर्बभन्दा बढी अर्थात् चालू आवमा करिब रु २० अर्ब राजस्व असुली गर्ने लक्ष्य रहेको र सो लक्ष्यलाई सार्थकता तुल्याउन सवारीसाधन दर्ता प्रक्रियालाई नयाँ प्रविधिबाट शुरुआत गरिएकामा प्रदेश सरकारको थप उपलब्धि भएको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट