काठमाडौं- जनता समाजवादी पार्टी, नेपाल (जसपा) को महन्थ ठाकुर पक्ष निर्वाचन आयोगमा सनाखत रोक्न माग गर्दै सर्वोच्च अदालत पुगेको छ ।
पार्टी दर्ता बखतको कार्यकारिणी सदस्यहरूको निर्वाचन आयोगले गर्ने भनेको सनाखत रोक्न माग गर्दै महन्थ पक्ष सर्वोच्च पुगेको हो ।
आधिकारिकता विवाद टुंगो लगाउन इजलास गठन गरेर आयोगले बिहीबारमात्र पार्टी दर्ता बखतको कार्यकारिणी सदस्यहरूलाई साउन ११ गते ११ बजे आयोगमा बोलाउने निर्णय गरेको थियो ।
जसपाको हालको समीकरणमा कार्यकारिणी समितिमा उपेन्द्र यादव पक्ष बहुमतमा छ ।
अहिलेकै समीकरण अनुसार ‘हेड काउन्ट’ भए आफूहरूले आधिकारिकता पाउने उपेन्द्र पक्षको दाबी छ ।
पार्टीभित्र अल्पमतमा परिसकेका अध्यक्ष ठाकुरको तर्फबाट प्रदीप पाठकले दायर गरेको रिटमा ‘हेड काउन्ट’ रोक्न माग गरिएको छ ।