काठमाडौं- कोरोना महामारीकाबीच नेपाली समयअनुसार आज साँझदेखि टोकियो ओलम्पिक गेम्स सुरु भएको छ ।
कोरोनाका कारण एक वर्ष ढिलो गरी हुन लागेको प्रतियोगिता अबको दुई साता जापानको राजधानी टोकियोमा संचालन हुनेछ ।
प्रतियोगितामा २ सय ७ देशका ११ हजार ३ सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ओलम्पिकमा नेपालका पाँच खेलाडीले सहभागिता जनाउँदैछन् ।
शुक्रबार भएको उद्घाटन समारोहमा पौडी खेलाडीद्वय गौरिका सिंह र एलेक्जान्डर ग्याडिगाड शाह नेपालको झण्डा बोकेका छन् ।
नेपालबाट पौडीका सिंहसँगै एलेक्जेण्डर शाह, एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्दैछन् ।
कोरोना महामारीले अघिल्लो वर्ष हुन नसकेको गृष्मकालीन ओलम्पिकको ३२ औं संस्करणको नाम भने ‘टोकियो ओलम्पिक २०२०’ नै राखिएको छ । २३ जुलाइमा सुरु हुने ओलम्पिक ८ अगस्टमा सकिने छ ।