‘जसरी पनि मन्त्री चाहिन्छ’ भन्दै प्रचण्डलाई तनाव दिनेहरू को को हुन् ?  -Sutra News

‘जसरी पनि मन्त्री चाहिन्छ’ भन्दै प्रचण्डलाई तनाव दिनेहरू को को हुन् ?  

शनिबार, ९ साउन २०७८

शनिबार, ९ साउन २०७८

शनिवार नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको ८ औं स्मृति दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री बन्न दबाब दिने मान्छेको हूलबाट आफू आएको भन्दै आक्रोश पोखे ।



‘हाम्रा सांसद सबैलाई मन्त्री चाहियाछ । हामीले पाउने बढीमा ७ जना हो । यहाँ मन्त्री नभए भने नेतृत्वलाई सरापेर हिँड्ने, पायो भने मात्रै गर्ने प्रवृत्ति छ । ठूलै नियुक्ति पायो भने ठीक छ, पाएन भने नेतृत्व बेइमान भन्ने प्रवृत्ति छ,’ उनले भने ।

गत आसार २८ गते सर्वोच्च अदालतले कांगेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो । त्यसपछि बनेको सरकारमा माओवादीका तर्फबाट जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री छन् ।

सत्ता गठबन्धनमा रहेका दलहरूलाई भागबण्डा मिलाएर मन्त्री दिनुपर्ने बाध्यात्मक अवस्थामा छन् प्रधानमन्त्री देउवा । तर प्रचण्डलाई पनि ‘मन्त्री बनाइदिनुस’ भन्दै दबाब दिनेहरू टन्न छन् ।

माओवादी केन्द्रमा ४९ सांसद छन् । तीमध्ये अधिकांश पहिला मन्त्री नभएकाहरू छन् । तर पहिला मन्त्री भइसकेका शर्मा र भुसाल पुनः मन्त्री बनेका हुन् ।

यसअघि मन्त्री नभएकाहरूमध्ये देवेन्द्र पौडेलले मन्त्री बन्न पाउनुपर्ने माग गरेका छन् । त्यस्तै नारायणकाजी समूहका तर्फबाट एकजनालाई जसरी पनि मन्त्री बनाउनुपर्ने दबाबमा प्रचण्ड छन् । उपप्रधानमन्त्री लिएर सरकारमा आफ्नो पार्टीको नेतृत्व गर्न स्वयं श्रेष्ठ तयार देखिन्छन् ।

प्रचण्डका विश्वास पात्रका रूपमा रहेका हरिबोल गजुरेल पनि मन्त्री बन्ने आशामा देखिन्छन् । वर्षमान पुनः मन्त्री नहुने अवस्थामा उनले आफ्नी श्रीमती ओनसरी घर्ती मगरलाई मन्त्री बनाउन उत्तिकै दबाब दिइरहेका छन् ।

अर्का नेता चक्रपाणी खनालले यसअघि ओलीले आफूलाई अपमानजनक ढंगबाट बर्खास्त गरेकाले अहिले चान्स पाउनुपर्ने भन्दै प्रचण्डलाई दबाब दिने गरेका छन् ।

युवा नेत्री धर्मशिला चापागाईंले पनि पूर्वको प्रतिनिधित्व गर्दै आफूलाई मन्त्री बनाउनुपर्ने दबाब दिने गरेकी छिन् । देव गुरुङले पनि मन्त्री दाबी गरेका छन् । उनले आफू नभए आफ्नी श्रीमती यशोदा गुरुङलाई मन्त्री बनाउनुपर्ने माग गरेका हुन् ।

तराई मधेशी मूलको भएका कारण आफूले मन्त्री पाउनुपर्ने भन्दै सन्तकुमार मण्डल र शिवकुमार थारूलेसमेत आफ्नो च्यानलबाट प्रचण्डलाई दबाब बढाइरहेका छन् ।

तर माओवादी केन्द्रको भागमा यतिबेला ७ मन्त्री मात्र पर्नेछ । त्यसमा दुईजनाले सपथ खाइसके भने ५ जना मात्र थप्न मिल्छ ।

अझ एमालेको माधवकुमार नेपाल समूह पनि सरकारमा आउने स्थिति बन्यो भने माओवादी केन्द्रले नै स्याक्रिफाइस गर्नुपर्ने देखिन्छ । आकांक्षी धेरै तर कोटा थोरै भएका कारण प्रचण्ड तनावमा देखिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट