कञ्चनपुर- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सीमासम्बन्धी विवाद कूटनीतिक तवरबाट समाधान गरिनुपर्ने बताएका छन् । बेलौरी नगरपालिकामा आज आयोजित छलफल कार्यक्रममा उनले सीमा क्षेत्रमा देखिने विवादका बारेमा पटक–पटक केन्द्रीय सरकारलाई समाधानका लागि दबाब दिइँदै आएको बताए ।
‘अन्तर्राष्ट्रिय सीमा समस्या हल गर्ने अधिकार प्रदेश सरकारलाई छैन’, उनले भने, ‘समस्या समाधानका लागि दबाब सिर्जना गर्ने कार्य हुँदै आएको छ ।’ सीमा समस्याबारे केन्द्रीय सरकारलाई सुझाव दिने कार्य हुँदै आएको उनले बताए ।
मुख्यमन्त्री भट्टले सीमासम्बन्धी विवाद हुँदा आम नागरिकलाई तनाव हुने गरेको उल्लेख गर्दै सीमा क्षेत्रका बासिन्दाले देखाएको राष्ट्रभक्तिले सीमा क्षेत्रको रक्षा भएको बताए । बेलौरीस्थित छोटी भन्सार कार्यालयको स्तरोन्नतिका लागि केन्द्रीय सरकारसमक्ष कुरा राख्ने उनले बताए ।
यसैबीच, आजै कृष्णपुर नगरपालिका–१ पहरियामा राष्ट्रिय माध्यमिक विद्यालयले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री भट्टले सामुदायिक विद्यालयको लगानीअनुरुपको गुणस्तर कायम हुन नसकेकोप्रति असन्तुष्टि व्यक्त गरे ।
‘सरकारी विद्यालय खोल्न जति जोड गर्दछौँ । विद्यालय सञ्चालनमा आएपछि व्यवस्थापनमा चासो दिइँदैन’, उनले भने, ‘त्यसको समीक्षा हुनु जरुरी छ ।’ सरकारको विद्यालयमा लगानी धेरै छ, लगानीअनुरुपका प्रतिफल नआउनुको कारण खोज्नुपर्ने बेला आएको उनले बताए ।