काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल फेरि गठबन्धनको बैठकमा सहभागि हुन थालेका छन् । शनिबार साँझ बालुवाटारमा भएको गठबन्धनको बैठकमा उनले सहभागिता जनाएका हुन् ।
शनिबारको गठबन्धनको बैठकमा नेपाल सहभागि भएसँगै अध्यक्ष केपी शर्मा ओलीसँग उनको एकता अझै टाढिँदै गएको देखिन्छ ।
गठबन्धनको बैठकमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपाका नेता उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागि थिए ।
गठबन्धन र सरकार दुवैलाई प्रभावकारी ढंगबाट अगाडि बढाउने विषयमा बैठक केन्द्रीत भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
नेता नेपालले शुक्रबार मात्रै ओलीलाई अझै नसुध्रिएको, तर्साउन खोजेको र आफूहरुलाई आममाफी दिन्छु भन्दै श्री ५ सरकारको जस्तो हुकुमी शैली प्रदर्शन गरेको आरोप लगाएका थिए ।
ओलीले केही दिनअघि आफू पक्षीय केन्द्रीय कमिटी बैठकमा नेपाल र उनी समर्थक खासगरी देउवालाई विश्वासको मत दिने सांसदहरुलाई गल्ती गरेको भएपनि आममाफी दिने घोषणा गरेका थिए ।
गठबन्धनको उद्देश्य राष्ट्रियता र संविधानको रक्षा गर्नु रहेको छ ।