काठमाडौं- नेकपा एमालेका नेता महेश बस्नेतले वरिष्ठ नेता माधव नेपाललाई भौतिक आक्रमणको चेतावनी दिएका छन् ।
शनिबार काठमाडौंमा ‘युथ फोर्सको भ्याली कमान्ड’ घोषणा क्रार्यक्रममा युवा संघका नेपालका इन्चार्जसमेत रहेका नेता बस्नेतले उक्त चेतवनी दिएका हुन् ।
‘आममाफी दिन्छु, एकताको प्रक्रियामा आउनुहोस्’ भन्दा अध्यक्ष केपी शर्मा ओलीलाई ‘बडामहाराज’ को संज्ञा दिएको भन्दै सकेसम्म मुखले सम्झाउने नमाने ‘हातगोडाले पनि सम्झाउनुपर्ने’ स्थिति आउन सक्ने चेतावनी दिए ।
अध्यक्ष ओलीले ‘आममाफी भयो, अब आउनुस् मिलेर काम गरौं’ वरिष्ठ नेता नेपालले ‘बडामहाराज खुसी हुनुभएछ, हामीलाई आममाफी दिनुभएछ’ भनेर व्यंग्य गरेका थिए ।
बस्नेतले ओली नेतृत्वको सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने र एमाले फुटाउने अध्यादेश ल्याए देशभर आगो बाल्ने चेतावनी पनि दिए ।
एमाले सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने षड्यन्त्र भएको र एमाले फुटाउन अध्यादेश ल्याउने षड्यन्त्र भइरहेको बस्नेतले दावी गरे ।
उनले भने, ‘पहिले एमाले बलियो बनाउन अध्यादेश ल्याउँदा, अध्यादेश फेल गराइयो, अहिले फेरि एमाले फुटाउन अध्यादेश ल्याउनुभयो भने देशभरि अगो बल्छ ।’
नेता बस्नेतले राष्ट्रपतिविरुद्ध महाभियोग लगाउनेबारे नसोच्न पनि सत्तारुढ गठबन्धनलाई आग्रह गरे ।
हालको सत्तारुढ गठबन्धनसँग नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी, नेपाल (जसपा) उपेन्द्र यादव पक्षको गरी जम्मा १२९ सांसदको समर्थन रहेको पनि बस्नेतले दावी गरे ।