अझै लागेन ओली र नेपाल भेट्ने टुंगो : नेपाल भन्छन् – युद्धमा हारेको कमाण्डरसँग केको सम्झौता ?-Sutra News

अझै लागेन ओली र नेपाल भेट्ने टुंगो : नेपाल भन्छन् – युद्धमा हारेको कमाण्डरसँग केको सम्झौता ?

आइतबार, १० साउन २०७८

आइतबार, १० साउन २०७८

प्रतिपक्षी दल नेकपा एमाले विभाजनको संघारबाट गुज्रिदै गर्दा एकताका लागि प्रयास गरिरहेका मध्यमार्गी नेताहरूको क्षमतामाथि प्रश्न उठिरहेको छ ।



आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच ‘वान टू वान’ भेटवार्ता गराउन उनीहरूले सकिरहेका छैनन् । योगेश भट्टराई, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण बिष्टले विगत ५ दिनदेखि ओली र नेपालको वार्ता गराउन भरपुर कोशिस गरिरहेका छन् ।

पार्टी एकताका लागि भन्दै निकै पहिलेदेखि अभियान नै चलाइरहेका यी नेपाल पक्षीय नेताहरू गत जेठ २ गते गठित कार्यदलका सदस्यसमेत रहेका थिए । कार्यदलले तयार गरेको १० बुँदे सहमतिपत्रमा नेता नेपाल असन्तुष्ट बनेपछि एमालेको एकता टर्दै आएको छ ।

निवर्तमान प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले नेपाल समूहका नेताहरूलाई कहिले स्पष्टिकरण सोध्ने गरेका छन् भने कहिले ‘आममाफी’ दिएँ भन्ने गरेका छन् । पार्टी एकताका लागि चर्को नबोल्न उनीमाथि आफ्नै नेताहरूले दबाब दिइरहेका छन् ।

एकताका लागि अन्तिमसम्म प्रयास गर्ने भन्दै अभियानमा लागेका नेताहरूबीच आइतवार छलफल हुने कार्यक्रम रहेको छ । उनीहरूबीच १० बुँदे सहमतीको समीक्षा हुने बताइएको छ ।

आज हुने छलफलमा माधव नेपाल पक्षबाट विघटित कार्यदलका सदस्यहरू रहनेछन् भने ओलीका तर्फबाट सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, विष्णु रिमाल लगायतका नेताहरू सहभागी हुनेछन् ।

तर नेता नेपाल भने पछिल्लोपटक सत्तापक्षीय गठबन्धनमा बढी मोह राख्न शुरू गरेका छन् । शनिवार साँझ बालुवाटारमा बसेको सत्तापक्षीय गठबन्धनमा नेता नेपाल पनि सामेल देखिन्थे ।

देउवा प्रधानमन्त्री बनेपछि नेता नेपालले आफू सत्तापक्षीय गठबन्धन छोडेको वक्तव्य दिएका थिए । त्यसपछि उनले आफ्नातर्फबाट डा. विजय पौडेललाई बैठकमा पठाउँदै आएका थिए ।

देउवालाई प्रधानमन्त्री बनाउन निर्णायक सहयोग गरेका नेता नेपाल र उनको समूह अहिले राजनीतिमा शक्तिशाली देखिएको छ । सर्वोच्च अदालतको किटानी आदेशबाट सत्ताच्यूत भएका ओलीको शक्ति भने निरन्तर क्षयीकरण भइरहेको देखिन्छ ।

ओली कमजोर बन्दै गएको निष्कर्षका साथ नेता नेपालले ओलीसँग भेट्न नमानेका हुन् । उनले आफूनिकट नेताहरूलाई भन्ने गरेका छन् – ‘युद्ध मैदानमा हारेको कमाण्डरसँग मेरो वार्ता हुँदैन ।’

‘ओलीले सत्ताको चिन्ता गरे, हामीले संविधानको चिन्ता गर्यौं । उनी हारे, हाम्रो प्रयासले संविधान र संसद जोगियो र हामीले जित्यौं । हारेर पनि त्यत्रो हुंकार गर्ने ओलीको पतन नजिक छ, हामीले उनीसँग कुनै सम्झौता गर्न सक्दैनौं,’ नेपालको भनाई उदृत गर्दै उनीनिकट एक नेताले सूत्रन्यूजसँग भने ।

यद्यपी नेता नेपालसँग विकल्प भने सिमित छन् । एमालेमा उनी अल्पमतमा छन् । संसदीय दलमा उनको ४० प्रतिशत पुग्दैन । केन्द्रीय कमिटीमा पनि नेपाल अल्पमतमै देखिएका छन् । अहिलेको कानूनी प्रावधानअनुसार उनले चाहे पनि एमाले विभाजन हुन सक्दैन ।

तर देउवाले उनलाई सजिलो हुने गरी पार्टी विभाजनसम्बन्धी विधेयक ल्याउने सम्भावना पनि उत्तिकै छ । यसबारे देउवाले भनिसकेका छन् – ‘चिन्ता लिनुपर्दैन । पार्टी विभाजनका लागि कानूनी प्रावधानको व्यवस्था गरौंला ।’

नेता नेपालले भने पार्टी विभाजनलाई प्राथमिकतामा राखेको देखिन्न । उनी अन्तिमसम्म एमालेमै रहेर संघर्ष गर्ने मूडमा छन् । उनले आफैले बनाएको घर छोड्न सजिलो नहुने भन्दै सार्वजनिक वक्तव्य पनि दिइसकेका छन् । तर अपमान सहेर बस्न पनि नसकिने उनको तर्क छ ।

नेपालनिकट मानिने नेता सुरेन्द्र पाण्डेले ओली र नेपाललाई भेट गराउन नसकेको स्वीकारे । ‘हामीले प्रयास गरिरहेका छौं, यसबारे थप टिप्पणी गर्न चाहन्न,’ पाण्डेले सूत्रन्यूजसँग भने ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट