काठमाडौं- साउनको पहिलो सोमबार जस्तै आज दोस्रो सोमबार (११ साउन) पनि शिव मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । काठमाडौंको पशुपतिनाथ मन्दिर बाहिर भक्तजनको भीड लागेको छ ।
सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो ।
साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।
साउनबाट नयाँ व्रतालुले पनि साउने सोमबारको व्रत सुरु गर्छन् । साउनको सोमबार व्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।
साउन महिना वर्षकै चोखो महिनाको रुपमा लिइने गरिएको गरिन्छ । शिवलाई जल चढाए पुण्य हुने र मनोकामना पूरा हुने विश्वास छ ।