सउल- दक्षिण कोरियामा एनआरएन दक्षिण कोरियाका क्षेत्रीय अध्यक्ष मदन भुजेलको हृदयाघातका कारण मृत्यु भएको छ ।
चुङ्नाम क्षेत्रका अध्यक्ष भुजेल शनिबार साँझ साथीहरूसँग फुटबल खेलेर केहीबेर आराम गर्ने क्रममा बेहोस भई ढलेका थिए ।
बेहोस भएपछि उनलाई तत्काल अस्पताल लगिएको थियो । उपचारारत उनलाई आइतबार बिहान अस्पतालले मृत घोषणा गरेको हो ।
उनी हालै सम्पन्न एनआरएनए कोरियाको क्षेत्रीय अधिवेशनबाट चुङ्नाम क्षेत्रीय समितिको अध्यक्षमा निर्वाचित भएका थिए ।
उनी प्रवासी नेपाली सङ्घ दक्षिण कोरियाका केन्द्रीय सदस्यसमेत थिए ।
उनको निधनलाई एनआरएन कोरियाले आधिकारिकरुपमा पुष्टि गर्नुका साथै शोक वक्तव्यसमेत जारी गरेको छ ।
उनको निधनले एनआरएनए कोरियालाई क्षति पुगेको भन्दै एनआरएनको नयाँ पदाधिकारीको पद तथा गोपनीयताको शपथसमेत अर्को सूचना जारी नभएसम्मलाई स्थगन गरिएको छ ।
भुजेल इ सेभेन प्रवेशाज्ञाअन्तर्गत विगत १२ वर्षदेखि कोरियामा बस्दै आउएका थिए । हाल शवलाई प्रहरीले नजिकैको अस्पतालमा राखेको छ । सांकेतिक तस्बिर ।