काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले हेड काउन्ट रोक्न माग गर्दै दिएको निवेदन निर्वाचन आयोगद्वारा अस्वीकृत भएको छ ।
सोमबार बिहान ठाकुर पक्षले हेड काउन्ट रोक्न माग गर्दै आयोगमा निवेदन दिएका थिए ।
अहिले जसपाका नेताहरुले निर्वाचन आयोगमा सनाखत गरेका छन् ।
निर्वाचन आयोगले (जसपा) को आधिकारिकतासम्बन्धी विवादको टुङ्गो लगाउन केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि बोलाएसँगै उनीहरुले सक्कली नागरिकता सहित सनाखत गरेका हुन् ।
कार्यकारिणी समिति सदस्यहरुको बहुमत उपेन्द्र यादव पक्षमा भएकाले आधिकारिकता यादव पक्षले पाउने निश्चितजस्तै छ ।
२०७७ असार २४ गते निर्वाचन आयोगमा दर्ता भएको जसपामा पछिल्लो समय आधिकारिकताको विषयलाई लिएर अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच विवाद छ ।
यादव पक्षले आफूसँग कार्यकारिणी परिषदका सदस्यको बहुमत रहेको दाबीसहित असार ४ गते आधिकारिकताका लागि निवेदन दिएका थिए। आयोगले दुवै पक्षलाई राखेर सहमति गराउने प्रयास गर्दा सफल नभएपछि इजलास गठन गरेर सुनुवाइ गरेको थियो।