जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादको सनाखतमा उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षमा बहुमत पुगेको छ।
५१ सदस्यीय कार्यकारिणी सदस्य रहेको जपसाका ३४ जना सांसदले उपेन्द्र-बाबुराम पक्षमा हस्ताक्षर गरिसकेको बताइएको छ ।
यसअघि महन्थ ठाकुरका पक्षमा रहेका मनिष सुमन, राजकिशोर यादव, रेणु गुरुङलगायतका नेताहरू यादव पक्षमा लागेका हुन् ।
‘पार्टी विभाजन गर्न चाहनेलाई सहयोग गर्न सकिएन, त्यसैले जसपाको पक्षमा हस्ताक्षर गरेका हौँ,’ मनिष सुमनले सञ्चारकर्मीहरूसँग भने ।
ठाकुरनिकट नेतासमेत रहेका राष्ट्रिय सभाका सदस्य मृगेन्द्रसिंह यादवले महन्थ ठाकुरहरूले किर्ते गरेको आरोप लगाएका छन् । ‘ओली प्रतिगामी हो, त्यस्तालाई साथ नदिने भनेर हाम्रो निर्णय थियो । तर महन्थ ठाकुरहरू उता लाग्नुभयो । किर्ते गर्नुभयो । त्यसैले हामी जसपाको पक्षमा उभिएका हौँ ।’
कार्यकारिणी समिति सदस्यहरुको बहुमत उपेन्द्र यादव पक्षमा भएकाले आधिकारिकता यादव पक्षले पाउने निश्चितजस्तै छ ।
२०७७ असार २४ गते निर्वाचन आयोगमा दर्ता भएको जसपामा पछिल्लो समय आधिकारिकताको विषयलाई लिएर अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच विवाद छ ।
यादव पक्षले आफूसँग कार्यकारिणी परिषदका सदस्यको बहुमत रहेको दाबीसहित असार ४ गते आधिकारिकताका लागि निवेदन दिएका थिए। आयोगले दुवै पक्षलाई राखेर सहमति गराउने प्रयास गर्दा सफल नभएपछि इजलास गठन गरेर सुनुवाइ गरेको थियो।