काठमाडौं- नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्दै छ । मंगलबार बिहान ९ बजे पदाधिकारी बैठक सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बस्न लागेको हो ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलकाअनुसार १४ औं महाधिवेशन तयारीबारे नै बैठक केन्द्रित हुनेछ । क्रियाशील सदस्यताको विषयमा अझै विवाद छ । सोही कारण साउन १२ का लागि तय भएको वडा अधिवेशन पनि स्थगित छ ।
आजको बैठकमा स्थगित वडा अधिवेशन कहिले गर्ने भन्नेबारेमा पनि छलफल हुने बताइएको छ । यस्तै रमेश लेखक नेतृत्वको केन्द्रीय क्रियाशील छानबिन समितिले आज प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
यसअघिको पदाधिकारी बैठकमा आजसम्म काम गरिसक्ने र प्रतिवेदन बुझाउने लेखकले बताएका थिए । उक्त समितिमा पाँच हजार उजुरी परेका थिए ।
बारा र सप्तरी जिल्लाको क्रियाशील फाइल नै उक्त समितिले हेरेको छैन। यस्तै देशभरका करिब १२५ वडाभित्र अझै क्रियाशील विवाद छ ।
क्रियाशील विवादले महाधिवेशनलाई नै प्रभावित बनाउने देखिएको छ । कांग्रेस महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका छ ।
क्रियाशील सदस्यता विवाद लगायतका विषयमा मतभेद कायमै रहँदा पार्टी रामचन्द्र पौडेल पक्ष भदौमा महाधिवेशन हुनेमा ढुक्क छैनन् ।