नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार संसदलाई नटेर्ने तथा विधि र विज्ञान नमान्ने भएको कारणले बालुवाटारबाट बार्दली पुगेको बताएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता थापाले यस्तो बताएका हुन् ।
सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेसँगै ओलीले घरको बार्दलीमा आएर अन्य नेताहरुको बारेमा टिप्पणी गरेका थिए ।
बैठकमा बोल्दै उनले भने, स्थानीय र प्रदेश सरकारलाई पंगु बनाउने। जनताको दुहाइ दिने तर आसेपासे पोस्ने। बाहिर सिंहजस्तो गर्जने, भित्र लम्पसार पर्ने यस्तैयस्तै परिचय बनाएर बालुवाटारबाट बार्दली पुगेको छ अघिल्लो सरकार।’