हेटौँडामा निःशुल्क शववाहन सेवा सञ्चालन-Sutra News

हेटौँडामा निःशुल्क शववाहन सेवा सञ्चालन

बुधबार, १३ साउन २०७८

बुधबार, १३ साउन २०७८

हेटौँडा- वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा उपमहानगरपालिकाले निःशुल्क शववाहन सेवा सञ्चालनमा ल्याएको छ । शवलाई आर्यघाटसम्म ल्याउनका लागि नगरवासीलाई थप सहज होस् भन्ने उद्देश्यले शववाहनको सेवा सञ्चालनमा ल्याइएको उपमहानगर प्रमुख हरिबहादुर महतले जानकारी दिए ।



उपमहानगरपालिकाले ठेक्कामार्फत रु २३ लाख ३५ हजार लागतमा शववाहन खरिद गरेको हो । उपमहानगरपालिका क्षेत्रमा कसैको भवितव्य रूपमा खोलामा डुबेर, झुण्डिएर वा विष सेवन गरेर मृत्यु भएमा परीक्षणका लागि अस्पतालसम्म ल्याउन पनि शववाहनले सेवा दिने प्रमुख महतले बताए ।

अख्तियार हेटौँडा कार्यालयको ५५ प्रतिशत सफलता

प्रदेश राजधानी हेटौँडास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले गत आर्थिक वर्ष २०७७/७८ मा ५५ दशमलव ५४ प्रतिशत उजुरी फछ्र्योट गरेको छ । कार्यालयमा परेका विभिन्न प्रकारका ९२९ उजुरीमध्ये अनुसन्धान सम्पन्न गरेर ५१६ उजुरी फछ्र्योट गरेको भएको आयोगको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार सबैभन्दा बढी बाराको ३०४ र सबैभन्दा कम भक्तपुरको एउटा मात्र उजुरी परेको थियो । यद्यपि काठमाडौँ, ललितपुर र भक्तपुरको उजुरी काठमाडौँस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा धैरै सङ्ख्यामा पर्ने गरेकाले हेटौँडास्थित कार्यालयमा उक्त जिल्लाको उजुरीको सङ्ख्या निकै कम रहेको पाइन्छ ।

गत आवमा कोरोनाको असहज परिस्थितिलगायत कारणबाट परेका उजुरीमध्ये धेरैको फछ्र्योट गर्न बाँकी रहेको कार्यालयले जनाएको छ । अख्तियारको हेटौँडास्थित कार्यालयमा परेका उजुरीको तथ्याङ्क हेर्दा उजुरीमध्ये सबैभन्दा धेरै स्थानीय तहका मात्र ५१८ उजुरी परेका छन् । तीमध्ये २६७ उजुरी फछ्र्योट भएको र बाँकी २५१ फछ्र्योट हुन बाँकी छ ।

त्यसैगरी गत आवमा सङ्घीय सरकारअन्तर्गतका कार्यालयको २३९ उजुरी परेका छन् । तीमध्ये १५३ उजुरी फछ्र्योट गरिएको छ भने ८६ वटा उजुरी फछ्र्योट हुन बाँकी छ । प्रदेशस्तरका मन्त्रालय र कार्यालयको १७२ उजुरी परेको छ । तीमध्ये ९६ उजुरी फछ्र्योट भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट