काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले माफी मागेका छन् ।
सत्तारुढ गठबन्धनमा रहेका दलसँग सल्लाह नगरी सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएको कुरालाई स्वीकार गर्दै बुधबार बालुवाटारमा जारी सत्तारुढ गठबन्धनको बैठकमा उनले गल्ती स्वीकार गरेका हुन् ।
बैठकमा विवादमा आउने श्रेष्ठलाई किन स्वास्थ्य राज्यमन्त्री बनाएको भन्दै राजपाका अध्यक्ष चित्रबहादुर केसीले प्रश्न गरेका थिए ।
स्वास्थ्य राज्यमन्त्रीमा देउवाले उमेश श्रेष्ठलाई नियुक्त गरेपछि धेरैले यसको विरोध गरेका छन् । डाक्टर गोविन्द केसीले उनलाई बर्खास्त गर्नुपर्ने माग गर्दै प्रधानमन्त्रीलाई पत्र समेत पठाएका थिए ।
बैठकमा नेपाली काङ्ग्रेसबाट प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, कृष्ण प्रसाद सिटौला छन् ।
बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित रहेका छन् । त्यस्ता जनता समाजवादी पार्टी (जसपा) बाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई ,अशोक कुमार राई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष दुर्गा पौडेल रहेका छन् ।
बैठकमा मन्त्रिपरिषद् विस्तारसहितका पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ । सरकार अहिले मात्रै ६ सदस्यीय छ ।
देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री तथा माओवादीबाट दुई मन्त्री छन् ।