काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । बैठक केहीबेर अघि सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा सुरु भएको हो ।
बैठकमा प्रधानमन्त्री एवं पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा.शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्रीद्वय डा. प्रकाशशरण महत र सुनिलबहादुर थापा, कोषाध्यक्ष सीतादेवी यादव, गृहमन्त्री तथा प्रतिनिधिसभामा काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणलगायतका नेताहरु उपस्थित रहेका छन् ।
आजको पदाधिकारी बैठकमा क्रियाशील सदस्यता छानविन समितिले बुझाएको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।
गत साउन ९ गते बसेको काँग्रेसको पदाधिकारी बैठकले वडा तहको अधिवेशन स्थगित गर्ने निर्णय गरेको थियो ।
आसन्न चौधौं केन्द्रीय महाधिवेशनको सन्दर्भमा साउन १२ गतेदेखि वडास्तरको अधिवेशन हुने तयारी रहे पनि सो समयमा अधिवेशन स्थगित गर्ने निर्णय भएको काँग्रेस केन्द्रीय कार्यालयले बताएको थियो ।