नेता नेपाललाई निकटस्थको सुझाव : ओलीसँग होइन, प्रचण्डसँग मिल्न सजिलो छ  -Sutra News

नेता नेपाललाई निकटस्थको सुझाव : ओलीसँग होइन, प्रचण्डसँग मिल्न सजिलो छ  

बुधबार, १३ साउन २०७८

बुधबार, १३ साउन २०७८

बुधवार बुद्धनगरस्थित साहाना प्रधान स्मृति प्रतिष्ठानको भवनमा एमालेका नेता माधवकुमार नेपालले आफूनिकट सांसदहरूलाई बोलाएर पछिल्लो परिस्थितिका बारेमा छलफल गरेका थिए ।



छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदमध्ये १९ सांसद उपस्थित थिए ।

करीब २ घण्टा चलेको छलफलमा अधिकांश सांसदहरूले अध्यक्ष केपी शर्मा ओलीसँग कुनै हालतमा मिल्न नसकिने निष्कर्ष सुनाए ।

‘ओलीले विभिन्न धोकाधडी र चालबाजी गरिरहेका छन्,’ छलफलमा सहभागी एक सांसदले सूत्रन्यूजसँग भने, ‘अझै १०/१५ दिन हेर्छौं । संसदीय दलमा बहुमत पुर्याउन सकिने सम्भावना जिवितै छ । त्यसो भयो भने ओलीलाई हटाइन्छ । भएन भने छुट्टै पार्टी गठन गरेर वृहत वामएकतासँगै अघि बढ्नुपर्ने हुन्छ ।’

उनले माओवादी केन्द्रसँग एकता गरेर अघि बढ्नेबारे धेरै सांसदहरू स्पष्ट रहेको बताए ।

उनले अधिकांश सांसदहरूले नेता नेपाललाई ओलीसँग नझुक्न र ओलीले फ्याँकेको दोस्रो अध्यक्षको चालबाजीमा नफँस्न आग्रह गरे ।

आजको छलफलमा सरकारमा जानुपर्ने तर्क अधिकांशले राखेका थिए । ‘हामी सरकारमा पनि सामेल हुन्छौं, बहुमत पुर्याएर ओलीलाई कारवाही पनि गर्छौं । अब ओलीसँग कुनै हालतमा सम्झौता हुँदैन,’ ती सांसदको भनाइ छ ।

मन्त्रिमण्डल विस्तारका लागि सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक साँझ सात बजे बस्ने तयारी छ । नेता नेपाल पनि त्यहाँ उपस्थित हुने र आफ्ना तर्फबाट मन्त्रीहरूको सूची दिने बताइएको छ । 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट