एमालेमा लागेका पूर्व माओवादी नेताको ‘बेहाल’ : ओली र प्रचण्ड दुवैले वास्ता नगरेपछि सर्वोच्चको सहारा  -Sutra News

एमालेमा लागेका पूर्व माओवादी नेताको ‘बेहाल’ : ओली र प्रचण्ड दुवैले वास्ता नगरेपछि सर्वोच्चको सहारा  

बुधबार, १३ साउन २०७८

बुधबार, १३ साउन २०७८

टोपबहादुर रायमाझी लगायत पूर्वमाओवादी खेमामा ४ निवर्तमान सांसदहरूले आफूहरू माओवादीमै रहेकाले आफूमाथि गरिएको कारवाही अवैध भएको भन्दै सर्वोच्च अदालतमा रिट हाले ।



एमाले एक हुने सम्भावना नरहेपछि र अध्यक्ष केपी शर्मा ओलीले पछिल्लोपटक वास्ता गर्न छाडेपछि उनीहरू आफू एमालेमा नगएको दाबीसहित सर्वोच्च अदालतमा कारवाही फुकुवा गर्ने आदेश माग्दै सर्वोच्च पुगेका हुन् ।

स्रोतका अनुसार रायमाझीले केही दिनअघि ओलीसँग फोनमा कुराकानी गरेका थिए । ओलीले ‘तपाईंहरूलाई जे ठीक लाग्छ त्यो गर्नुस्’ भनेपछि उनीहरूले आफूहरू एमालेमा नगएको दाबीसहित रिट दायर गरेका हुन् ।

आज दायर गरिएको रिटको पेशी भोलिलाई तोकिएको छ । अदालतले उनीहरूमाथि गरेको कारवाही फुकुवा गरेपनि माओवादी केन्द्रमा स्वीकार्य हुन गाह्रो रहेको चर्चा चल्न थालेको छ ।

रायमाझी लगायतका नेताहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि कुराकानी गर्न खोजेका थिए ।

अदालतले कारवाही फुकुवा गरेमा आफूहरू पार्टीमै रहेर काम गर्न तयार रहेको भन्दै उनीहरूले प्रचण्डलाई सन्देश पठाएका छन् । तर प्रचण्डले पनि उनीहरूलाई वास्ता नगरेको प्रचण्ड सचिवालयले जनाएको छ ।

आफूहरू एमालेमा नरहेको र माओवादी केन्द्रमै रहेको दाबीसहित उनीहरूले आज अदालतमा रिट हालेका हुन् । उनीहरूले निर्वाचन आयोगमा माओवादी केन्द्र अवैध रहेको भन्दै दल नै खारेज गर्नसमेत निवेदन दिएका थिए । उक्त निवेदनलाई आयोगले खारेज गरिदिएको थियो ।

गत पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी र प्रभु शाह ओली खेमातिर लागेर मन्त्री बनेका थिए । फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताएपछि उनीहरू लगायत २३ नेताहरू एमालेको केन्द्रीय कमिटी सदस्य बनेका थिए ।

माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका तत्कालीन गृहमन्त्री रामबहादुर थापालाई राष्ट्रिय सभा सदस्य नरहने गरी कारवाही गरिएको थियो ।

वैशाख २७ गते ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि ठूलो दलका आधारमा प्रधानमन्त्रीमा अर्कोपटक नियुक्त भए । त्यसपछिको नयाँ मन्त्रीमण्डलमा पुनः सपथ लिएका पूर्व माओवादी केन्द्रका ७ नेताहरूलाई सर्वोच्चले बर्खास्त गरिदिएको थियो ।

केही दिनअघि रायमाझीले सूत्रन्यूजसँग कुरा गर्दै भनेका थिए – ‘हामी न एमाले रह्यौं, न माओवादी ।’ दलविहीन भएपछि नेताहरू सर्वोच्च अदालतको ढोका ढक्ढक्याउन गएका हुन् ।  

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट