जसपामा मन्त्री छान्ने जिम्मा बाबुराम, उपेन्द्र र अशोकलाई-Sutra News

जसपामा मन्त्री छान्ने जिम्मा बाबुराम, उपेन्द्र र अशोकलाई

बुधबार, १३ साउन २०७८

बुधबार, १३ साउन २०७८

काठमाडौं- जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले सरकारमा पठाउने मन्त्रीबारे निर्णय लिन तीन नेतालाई प्रस्ताव गरेको छ ।



बुधबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा अधिकांश सदस्यले मन्त्रीको नाम टुंग्याउने जिम्मेवारी संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, संघीय अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई दिने प्रस्ताव गरेका हुन् ।

सरकारमा जानेको नाम टुंग्याउने जिम्मेवारी तीन नेतालाई दिने विषयमा बैठकमा छलफल भएको कार्यकारिणी सदस्य नवराज सुवेदीले जानकारी दिए ।

सुवेदीले भने, ‘मन्त्रीमा कसलाई पठाउने भन्नेबारे निर्णय लिने अधिकार तीन नेतालाई दिनेबारे बैठकमा छलफल भएको छ । यसबारे आजको बैठकमा निर्णय भएको छैन । भोलिको बैठकले यसलाई औपचारिकता दिन्छ ।’

तीन नेताबाहेक अन्य पनि उक्त समितिमा थपिन सक्ने कार्यकारिणी सदस्य गंगा श्रेष्ठले बताए । ‘बैठकले तीन नेताको नाम प्रस्ताव गरेको छ’, उनले भने, ‘अन्य नेताहरु पनि थपिन सक्नुहुन्छ ।’

बैठक भोलि पुनः११ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट