हिसिला या गंगामध्ये एकजनालाई मन्त्री बनाउनै पर्ने बाबुरामको अडान, उपेन्द्रले भने – हेरौंला-Sutra News

हिसिला या गंगामध्ये एकजनालाई मन्त्री बनाउनै पर्ने बाबुरामको अडान, उपेन्द्रले भने – हेरौंला

बिहिबार, १४ साउन २०७८

बिहिबार, १४ साउन २०७८

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नी श्रीमती हिसिला यमीलाई ६ महिनाका लागि भएपनि मन्त्री बनाउन अध्यक्ष उपेन्द्र यादवलाई दबाब दिएका छन् ।



संघीय संसदको सदस्य नरहेपनि यमीलाई संवैधानिक प्रावधानअनुसार ६ महिनाका लागि मन्त्री बनाउन सकिन्छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले आफ्नी पत्नीलाई जसरी पनि मन्त्री बनाउनुपर्ने अडान लिएका हुन् ।

उनको अडानलाई अध्यक्ष यादवले हेरौंला भनेर टार्ने गरेका छन् । यसबारेमा भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवासम्म कुरा पुर्याइसकेको स्रोतको दाबी छ ।

यमी नभए आफूनिकट नेता तथा कार्यकारिणी सदस्य गंगा श्रेष्ठलाई भएपनि मन्त्री बनाउनुपर्ने डा. भट्टराईको माग छ । श्रेष्ठ पनि संघीय संसदको सदस्य होइनन् ।

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि आजभोलि नै निर्णय गरेर सरकारमा सहभागी हुने यादवको मुड छ । महन्थ ठाकुरका पक्षमा देखिएका केही सांसद र नेताहरूले लाइन परिवर्तन गरेर आफूतिर आएपछि उनीहरूलाई पनि समेट्ने दबाबमा यादव छन् ।

जसपा आधिकारिकताको छिनोफानो हुँदा आफ्नो विपक्षमा मत हालेका १६ कार्यकारिणी सदस्यलाई पदमुक्त गर्ने निर्णय यादवले लिइसकेका छन् ।

आफूतिर रहेका ३४ कार्यकारिणी सदस्यको बैठक मंगलवारदेखि पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा जारी छ । आज समापन हुने भनिएको बैठकले ठाकुरतिर लागेका सांसदहरूलाई पदमुक्त गर्ने, सरकारमा जानेहरूको लिस्ट बनाउने जस्ता निर्णयहरू गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट