बाघको संरक्षणसँगै राष्ट्रको जैविक विविधता र पर्यटन प्रवद्र्धनमा प्रधानमन्त्रीको जोड-Sutra News

बाघको संरक्षणसँगै राष्ट्रको जैविक विविधता र पर्यटन प्रवद्र्धनमा प्रधानमन्त्रीको जोड

बिहिबार, १४ साउन २०७८

बिहिबार, १४ साउन २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले बाघ संरक्षणका लागि उसको बासस्थान र पर्यावरण संरक्षण अपरिहार्य भएको बताएका छन् ।



 विश्व बाघ दिवसका सन्दर्भमा राष्ट्रिय बाघ संरक्षण समितिले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले  जैविक पर्यावरण र पारिस्थिकीय प्रणालीलाई सन्तुलित राख्न बाघको अहम् भूमिका रहेको वास्तविकता सुनाउँदै बाघको बासस्थानको संरक्षणमा मानव समुदायले विशेष ध्यान दिनुपर्ने बताए ।

प्रधानमन्त्री देउवाले बाघको बासस्थान संरक्षण तथा वन्यजन्तुको चोरी शिकारी र निकासी नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै बाघ संरक्षणका लागि स्थानीयवासीलाई नै परिचालन गर्न सुझाव दिए ।

उनले वन्यजन्तु संरक्षणमा स्थानीयवासीलाई रोजगारीका अवसर पनि सिर्जना हुने भएकाले विकास पूर्वाधारका कारण प्रभावित बासस्थल संरक्षणमा ध्यान दिइने बताए । उनले भने, “वन्यजन्तु मैत्री पूर्वाधार निर्माणका लागि आवश्यक मापदण्ड तर्जुमा गरी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ” ।

 प्रधानमन्त्रीले पाटे बाघका कारण प्रसिद्ध नेपालमा अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनको माध्यम बन्नसक्ने बताउँदै बाघ र उसको बासस्थानका साथै पर्यापर्यटनको विकासमा लाग्नुपर्ने उल्लेख गरे ।

नेकपा एमालेका नेता माधवकुमार नेपालले वातावरण संरक्षणका लागि हिमाली देशको छुट्टै सङ्गठन बनाउन आवश्यक धारणा व्यक्त गर्दै जलवायु परिवर्तन र वातावरण संरक्षणका क्षेत्रमा त्यस्तो सङ्गठन आवश्यक भएको अभिमत पोखे ।

पूर्वप्रधानमन्त्री नेपालले आफ्नो प्रधानमन्त्रीकालदेखि थालिएको बाघ संरक्षण अभियान सफल भएकोमा खुशी हुँदै सन् १९१२ मा रसियामा भएको अन्तर्राष्ट्रिय बाघ सम्मेलनले अघिसारेका रणनीति बाघ संरक्षणमा उपयोगी हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट