महोत्तरी- महोत्तरीका गाउँ, नगर बस्तीमा आज साउन १५ पर्व मनाइँदै छ । खासगरी पर्वते मूलका हिन्दूहरुले मनाउने यस पर्वमा खिर खाने परम्पराअनुसार जिल्लाका उत्तरवर्ती क्षेत्रमा दूधको जोहोमा सर्वसाधारण जुटेका छन् । जिल्लाका बर्दिवास, गौशाला, भङ्गाहा र औरही नगरपालिका क्षेत्रमा पर्वते मूलका हिन्दू धर्मावलम्बीको सघन बसोबास छ ।
सामान्यतया असार र साउन मासको धान रोपाइँमा हिलोमा धसिएर काम गर्दा चिसाले गर्ने असर कम गर्न मध्य साउनमा खिर खाने परम्परा बसेको बूढापाकाको भनाइ छ । यद्यपि यसपालि असार मध्यपछिको मुसलधारे बर्खासँगैको भेलले रोपेको रोपो बगाएको, गलाएको र त्यसयताका बीउको अभाव एवं डुबान समस्याले अपेक्षित रोपाइँ नभएको यहाँका किसान बताउँछन् ।
वर्षभरि गुजारा चलाउने मुख्यबाली धान रोपाइँ राम्रो नभएपछि खुशीले भन्दा परम्परा थेग्न मात्रै साउने १५ पर्व मनाइँदै गरिएको सर्वसाधारण किसानको भनाइ छ । पर्वमा खिर खाने परम्परा थेग्न बिहानैदेखि दूधको जोहोमा भौँतारिनुपरेको धेरैजसोले बताएका छन् । पर्वको अवसरमा दूधको एक्कासि अभाव भएको र मूल्य पनि आकासिएको सर्वसाधारणको गुनासो छ ।
बस्तीमा पछिल्लो एक वर्षयता रु ६० प्रतिलिटर पाइँदै आएको दूध आजचाहिँ रु ८० मा पनि नपाइएको भङ्गाहा–४ रामनगरकी दीपमाया श्रेष्ठ बताउँछन् । जिल्लाका बर्दिवास, गौशाला र औरहीका बजार क्षेत्रमा पनि दुग्ध पसलमा आज दूध लिनेको भीड छ ।
साउने १५ पर्वमा विवाह भएर गएका छोरीचेली र ज्वाइँचेलालाई निम्ता गरेर खिर ख्वाउने पुरानो परम्परा रहेको बूढापाका बताउँछन् । जिल्लाका बर्दिवास, भङ्गाहा, गौशाला र औरही नगर क्षेत्रका बजारमा दूधको माग निकै बढेको यस भेगका दूध व्यापारीले बताएका छन् ।