काठमाडौँ । सांसद पदमा पुनर्वहालीको माग गर्दै पूर्वमाओवादी नेताहरुले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज पनि सुनुवाइ नहुने भएको छ।
निवेदकका तर्फबाट आएको निवेदनका आधारमा सुनुवाइ स्थगित गरिएको सर्वोच्च अदालतले जनाएको छ ।
बिहीबार न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा पेसी राखिए पनि समय अभावमा ‘हेर्न नभ्याइने’ सूचीमा राखेको थियो।
नेकपा माओवादी केन्द्रले कारवाही गरेपछि सांसद पद गुमाएका पूर्वमाओवादीका ४ पूर्वमन्त्रीले सांसद पदमा पुनर्वहाली गर्न भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरुलाई सांसद पदबाट मुक्त गर्ने माओवादी केन्द्रको निर्णय ऐन र माओवादीको विधानविपरीत भएको भन्दै उनीहरुले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
राजनीतिक दल सम्बन्धी ऐनको दफा ३२ ले दल त्याग भएको पुष्टि हुनुपर्ने भनेको र आफूहरुले दल त्याग गरेको पुष्टी हुने कुनै प्रमाण नरहेको उनीहरुको तर्क छ ।