भारतीय सीमा सुरक्षा बलले महाकाली नदी तर्दातर्दै तुइन नै काटिदिए, एक नेपाली बेपत्ता-Sutra News

भारतीय सीमा सुरक्षा बलले महाकाली नदी तर्दातर्दै तुइन नै काटिदिए, एक नेपाली बेपत्ता

शनिबार, १६ साउन २०७८

शनिबार, १६ साउन २०७८

काठमाडौं- एक नेपाली महाकाली नदी तर्न तुइनमा झुण्डिएकै बेला भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन फुकाल्दा दार्चुलाको व्यास गाउँपालिका–२ राङ्थाङ बस्तीका ३५ वर्षीय जयसिंह धामी शुक्रबार बेपत्ता भएका छन् ।



दार्चुलाको व्यास–२ मालघाटमा नेपाल–भारत सीमा नदी माथिको तुइनबाट महाकाली तरेर भारतीय बाटो हुँदै कामको खोजीमा सदरमुकाम जान थालेका धामी तुइनमा झुन्डिएकै बेला एसएसबीका सुरक्षाकर्मीले लट्ठा फुकाल्दा घटना भएको स्थानीयले बताए । 

सदरमुकाम खलंगा जान हिँडेका ६-७ जना शुक्रबार बिहान महाकाली तर्न पालैपालो तुइन चढेका थिए । तीन जना पारि पुगेपछि जयसिंह तुइन चढेका थिए । उनी अर्को किनारमा पुग्ने बेला एसएसबीले लठ्ठा खोलेपछि उनली तल झरे ।
स्थानीयका अनुसार लठ्ठा नखोल्न अनुरोध गर्दा पनि एसएसबीले वास्ता नगरेको बताए । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले जयसिंह महाकाली नदीमा बेपत्ता भएको यकिन भए पनि घटना कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको बताए ।

‘एसएसबीले तुइन काटिदिएकाले महाकालीमा खसेर उनी बेपत्ता भएको स्थानीयको भनाइ छ, तर कतिपयले एसएसबीले तुइन काट्दा जयसिंह महाकालीमा खसिसकेको बताइरहेका छन्,’ चन्दले भने, ‘यो विषयमा विस्तृत अनुसन्धानपछि मात्र प्रस्ट भन्न सकिन्छ ।’

नदी तर्दातर्दै तुइन काट्ने भारतीय सीमा सुरक्षा बल एसएसबीका सुरक्षाकर्मीलाई कारबाहीको माग राख्दै स्थानीयले जिल्ला प्रशासन कार्यालयमा निवेदनसमेत दिएका छन् । जयसिंहले तुइन तर्दै गर्दा पोसाक र हतियारसहित आएका एसएसबीले तुइन काटेको लिखित दाबी उनीहरूको छ । कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट