माधवलाई भोलिदेखि दलबिहीन बनाउने ओलीको तयारी-Sutra News

माधवलाई भोलिदेखि दलबिहीन बनाउने ओलीको तयारी

शनिबार, १६ साउन २०७८

शनिबार, १६ साउन २०७८

शनिवार अपराह्न ३ बजेका लागि बोलाइएको नेकपा एमालेको स्थायी कमिटी बैठक विषयमै प्रवेश नगरी स्थगित भयो । नेता माधवकुमार नेपालसँग एकताका लागि अझै वार्ता भइरहेकाले एकातर्फी बैठक बस्न उचित नहुने भन्दै भीम रावललगायतका नेताहरूले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेपछि बैठक आइतवार ३ बजेसम्मका लागि स्थगित भएको हो ।



ओलीले भोलिसम्म एकतामा नआए पेलेर अघि बढ्ने रणनीतिका साथ बैठक स्थगित गरेर २४ घन्टे अल्टिमेटम दिएका हुन् । उनले नेता नेपाललगायत अन्य केही नेताहरू आफ्नो अध्यक्षतामा कुनै पनि हालतमा नफर्किने बुझिसकेका छन् । स्रोतका अनुसार भोलिको बैठकमा नेता नेपाल सहभागी हुने सम्भावना छैन ।

‘ओलीको अध्यक्षतामा कुनै हालतमा फर्किने कुरा हुँदैन,’ नेता नेपालले आफूनिकट नेताहरूलाई भन्ने गरेका छन् । केही दिनअघि नेपालले अर्को अध्यक्ष खान जानेहरू गए हुन्छ भनेर ओलीतिर ढल्किएका आफ्ना नेताहरूलाई कटाक्ष गरेका थिए ।

ओली र नेपाल पक्षबाट ५/५ जना राखेर गठन गरिएको कार्यदलले असार २७ गते दश बुँदे सहमति गरेको थियो । नेता नेपालले त्यसलाई स्वीकार गरेका छैनन् । दश बुँदे सहमति गर्न नेपालको तर्फबाट भूमिका खेलेका नेताहरू अझै पनि एकता जोगाउन भन्दै प्रत्यक्ष, अप्रत्यक्ष वार्ता गर्न छोडेका छैनन् ।

उक्त कार्यदल विघटन भइसकेको छ । तर कार्यदलका सदस्यहरूको औपचारिक र अनौपचारिक भेटवार्ता भने जारी छ । विधान संशोधन गरेर भएपनि दुई अध्यक्ष बनाएर अघि बढ्ने प्रस्ताव कार्यदलका केही सदस्यहरूले गरेका थिए, तर त्यो खारेज भएको छ ।

ओलीलाई अध्यक्ष नै नमान्ने नेपालको अडानकै कारण एमालेको एकताको च्याप्टर लगभग क्लोज भएको ओलीपक्षीय एक नेताले सूत्रन्यूजलाई बताए ।

‘महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई नै अध्यक्ष मान्न तयार नहुनु भनेको एकताको च्याप्टर क्लोज गर्नु हो । २४ घण्टाका लागि बैठक स्थगित भएको छ, योबीचमा उहाँहरू दशबुँदे सहमतिमा प्रतिबद्ध भएर आउनुभएन भने हामी आफ्नो हिसाबले अघि बढ्छौं,’ ती नेताले भने ।

स्रोतका भोलि स्थायी कमिटी बैठकमा नआए ओलीले नेता नेपाललगायतका नेताहरूलाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गर्नेछन् । यद्यपि यस्तो कारवाही यसअघि ओलीले पटक-पटक गरेर फिर्तासमेत लिइसकेका छन् ।

‘हामीलाई दलबिहीन बनाउने ओलीको योजना हो भने त्यो सम्भव छैन, देशलाई भडखालोमा हालेको स्वीकार गरेर ओलीले राजीनामा नदिएसम्म उनको नेतृत्वमा हामी अघि बढ्न सक्दैनौं । ओलीले एकलौटी निर्णय गरेर अघि बढे भने हामीले पनि हाम्रो समानान्तर गतिविधिहरूलाई तीव्रता दिन्छौं,’ नेपालपक्षीय एक नेताले भने ।

प्रधानमन्त्री रहँदा ओलीले दुईपटक प्रतिनिधि सभा विघटन गरेका थिए । दुवैपटकको विघटनलाई नेपाल पक्षले प्रतिगमन भनेको थियो । पछिल्लो पटक जेठ  ७ गतेको मध्यराति गरिएको प्रतिनिधि सभा विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक भन्दै ओलीलाई प्रधानमन्त्रीबाट बर्खास्त गरिदिएको थियो ।

अदालतमा नेपाल समूहकै २३ सांसदहरूले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश माग गर्दै रिट हालेका थिए । ओलीले एमालेको सरकार रहँदा रहँदै विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन रिट हाल्न जानेहरूलाई पार्टीमा कुनै ठाउँ नरहेको बताउँदै आएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट