काठमाडौं- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रजातान्त्रिक विचार समाजले आज भेट गरी विभिन्न समसामयिक जनजीविकाका सवालमा ध्यानाकर्षण गराएको छ ।
समाजका अध्यक्ष डा.केदारनरसिंह केसी, वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्ले, महासचिव गोकर्ण अर्याललगायतको टोलीले जनतालाई कोरोनाको निःशुल्क उपचार तथा रोकथाम, खोपमा सबै जनतालाई सहज पहुँच, बाढी, पहिरो वा प्राकृतिक प्रकोपको रोकथाम, उद्धार र राहतलगायत विषयमा प्रधानमन्त्री देवालाई ध्यानाकर्षण गराएको हो ।
प्रधानमन्त्री देउवालाई समाजले ध्यानाकर्षण पत्रमार्फत मुलुकको जटिल राजनीति र कठिन अर्थतन्त्रकोे अहिलेको स्थितिले उनको नेतृत्वमा निकास र समाधान पाउने विश्वास लिएको जनाएको छ ।
लोकतान्त्रिक मूल्य, मान्यता र विधिलाई कुल्चिएर यसअघिको सरकारले गरेका स्वेच्छाचारी निर्णय सच्याएर लोकतन्त्र, विधिको शासन र सुशासन, पारदर्शीता स्थापित गर्न प्रधानमन्त्री देउवा नेतृत्वको संयुक्त सरकार सफल हुने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
मुलुकका विभिन्न समस्या र चुनौतीको समाधान गरी वर्तमान सरकारले संसदीय आवधिक निर्वाचन सुनिश्चित गर्ने विश्वास प्रजातान्त्रिक विचार समाजको छ ।
कांग्रेसको आसन्न १४औँ महाधिवेशन सम्पन्न गर्ने सभापतीय दायित्व पनि सभापति देउवासामु रहेको र सरकार निर्माणमा सम्मिलित दलहरुसमेत सबैलाई समेटेर राजनीतिलाई सहिष्णु र थप समावेशी बनाई सबै पक्षसँग हुने सहमति, सहयोग र सहकार्यले देशलाई नयाँ गति र भरोसा दिने समाजले जनाएको छ ।