काठमाडौं- प्रधानन्त्री शेरबहादुर देउवाले आज साँझसम्ममा मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।
सत्तासाझेदार दल नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मन्त्रीको नाम टुङ्गो लगाएमा आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
सरकारमा जाने मन्त्रीहरुको बारेमा टुङ्गो लगाउन माओवादी केन्द्र र जसपा आन्तरिक छलफलमा जुटेका छन् । माओवादी केन्द्रले बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटीको बैठक बोलाएको छ ।
बैठकमा सरकारमा सहभागी हुने मन्त्रीको बारेमा छलफल हुने नेता देवेन्द्र पौडेलले बताए । सरकारमा जाने मन्त्रीको बारेमा जसपाले पनि पछिल्ला केही दिनदेखि औपचारिक तथा अनौपचारिक छलफल चलाउँदै आएको छ ।
मन्त्रिपरिषद् विस्तारबारे शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डबीच भेटवार्ता भएको थियो । त्यसैगरी जसपाका अध्यक्षद्वय डा.बाबुराम भट्टराई र उपेन्र्द यादवले पनि देउवालाई भेटेका थिए ।