विस्तारै उठ्दैछ कोरोनाले थलिएको पोखरा-Sutra News

विस्तारै उठ्दैछ कोरोनाले थलिएको पोखरा

आइतबार, १७ साउन २०७८

आइतबार, १७ साउन २०७८

झण्डै दुई वर्षयता कोरोना कहरका कारण पर्यटकीय नगरी पोखरामा व्यवसाय ठप्प छ । व्यवसाय ठप्प भएसँगै यस क्षेत्रमा सम्बद्ध मजदूर बेरोजगार बनेका छन् । गत वर्ष कोरोनाको पहिलो लहर केही साम्य भएसँगै पोखराका पर्यटन व्यवसायीमा जागेको आशा महामारीको दोस्रो लहरले भत्काइदिएको छ ।



 नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आन्तरिक पर्यटनलाई चलायमान बनाउने उद्देश्यका साथ पर्यटन सम्बद्ध सङ्घसंस्थाले प्रवद्र्धनात्मक कार्यक्रमका गतिविधि अघि बढाएका थिए । त्यसक्रममा मर्दी हिमाल पदयात्रादेखि धम्पुस पिक आरोहणका साथै प्रदेशका ढोरपाटनदेखि नवलपुरसम्मका विभिन्न स्थानमा प्रवद्र्धनका कार्यक्रम सम्पन्न भएका थिए । कोरोनाको दोस्रो लहर बढेपछि यी सबै क्रियाकलापसमेत पुनःठप्प बनेको पर्यटन अझै सुनसान छ ।

पर्यटनलाई पुनःचलायमान बनाउन यतिखेर पोखराका पर्यटन व्यवसायी प्रदेश हुँदै सङ्घीय सरकारसँग खोपको सुनिश्चितताको माग गरेका छन् । पोखरा पर्यटन परिषद्को अगुवाइमा पछिल्ला दिनमा प्रदेशका मुख्यमन्त्रीदेखि सम्बद्ध मन्त्रीलाई भेटी पर्यटन क्षेत्रलाई चलायमान बनाउन तत्काल खोपको व्यवस्था गर्न माग गरिएको छ ।

परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई आफूहरूलाई पहिलो चरणमा होटल तथा रेष्टुरेन्टसहितका मजदूर एवं व्यवसायीलाई लक्षित गरी कोरोनाविरुद्धको पाँच हजार खोप तत्काल आवश्यक भएको बताउँछन् । “पोखरामा पर्यटन व्यवसायीका लागि भने २० हजार मात्रा खोप आवश्यक भए पनि तत्कालका लागि पर्यटन बजारमा राम्रो सन्देश दिने गरी पाँच हजार खोप व्यवस्था गर्न माग गरेका छौँ”, उनले भने ।

गण्डकी प्रदेश सरकारले अघिल्लो वर्षमा ल्याएको एक अर्बको व्यवसाय जीवन रक्षा कोष अधिकांश साना तथा मझौला व्यवसायीको पहुँचमा नभएको दाबी गर्दै उहाँले बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋणको किस्ता तथा ब्याज आगामी दुई वर्षसम्म तिर्नसक्ने कुनै सम्भावना नभएकाले कर्जा तालिकालाई पुर्नतालिकीकरण गर्नुपर्ने उनले बताए ।

मौद्रिक नीतिमा आगामी आर्थिक वर्ष २०७८÷०७९ मा पर्यटन प्राथामिकता प्राप्त क्षेत्रका रुपमा सम्बोधन गरी हरेक बैंकले बढीमा पाँच प्रतिशत ऋण सहुलियत व्याजदरमा पर्यटन उद्योगमा अनिवार्य लगानी गर्ने गरी व्यवस्था मिलाउनुपर्नेमा व्यवसायीको जोड छ । पोखराको पर्यटनमा सम्भावना देखेर नै लगानीका लागि हात बढाएका व्यवसायीलाई एकपछि अर्को गर्दै आएको कोरोना कहरका शृङ्खलाले मर्माहत बनाएको छ । ढपक्क हिउँले ढाकिएको चाँदीजस्तै टलक्क टल्कने माछापुच्छ्र«े, अन्नपूर्णलगायतका हिमाल, तालमा टलपल पानी पर्यटकको स्वागत गर्न नपाउँदा फिका जस्तै बनेका छन् ।

पर्यटन क्षेत्र अझै पनि राज्यको प्राथमिकतामा पर्न नसकेको र सर्वसाधारणसँग प्रत्यक्ष सम्पर्कमा रहने पर्यटन व्यवसायीलाई हालसम्म पनि कोरोनाको खोप नदिँदा आफूहरूलाई चिन्तित बनाएको व्यवसायी बताउँछन् ।

विगतमा नियमित मात्र नभई नेपाल भ्रमण वर्ष, गण्डकी प्रदेश भ्रमण वर्ष आदिका नाममा यहाँका पर्यटन व्यवसायीले अधिकतम पर्यटक भित्र्याउने लक्ष्यका साथ ठूलै लगानीमा पूर्वाधार निर्माण गरेका थिए । जनस्तरबाटसमेत ठाउँठाउँमा पर्यटन लक्षित पूर्वाधार विकासलाई निरन्तरता दिइएको छ ।

कोरोनाका कारण देशका अधिकांश आयोजनासँगै विकास निर्माणमा पनि असर परेको अवस्थामा पोखरा महानगरपालिका–२२ स्थित पुम्दीकोटमा जनस्तरबाट विशाल महादेवको मूर्ति निर्माण गरिएको छ । पुम्दीकोटमा यतिखेर ५१ फिट उचाइको महादेवको मूर्ति स्थापना गरिएसँगै सो स्थानमा आन्तरिक पर्यटक पुग्ने क्रमले गति लिन थालेको छ ।

पछिल्ला दिनमा निषेधाज्ञा खुकुलो बन्दै गएपछि आन्तरिक पर्यटकको चाप बढ्न थालेकाले आगामी दिन यो स्थल यस क्षेत्रको महत्वपूर्ण गन्तव्यस्थल बन्ने पोखरा महानगरपालिका–२२ का वडासदस्य मातृका बरालले बताए ।

कोरोनाको डर हुँदा पनि सबैको साथ र सहयोगमा निर्माण कार्यले निरन्तरता पाउँदा महादेवको मूर्ति राख्न सम्भव भएको बताउँदै उहाँले विस्तारै कोरोनाको प्रभाव कम हुँदै पर्यटनमा नवीनतम् आशा र विश्वास पलाएर जाने विश्वास व्यक्त गरे ।

समितिका अध्यक्ष एवं निर्माण समितिका संयोजक चन्द्रकान्त बरालका अनुसार पुम्दीकोटका प्रचुर पर्यटकीय सम्भावनालाई दृष्टिगत गर्दै विशाल महादेवको मूर्ति निर्माणका लागि अभियान थालिएको थियो । पोखराको मुख्य बजार क्षेत्रबाट झण्डै १३ किमी दूरीमा रहेको पुम्दीकोटबाट पोखरा उपत्यकासहित हिमाली शृङ्खला अवलोकन गर्न सकिन्छ ।

पुम्दीकोटमा मूर्ति स्थापनाका साथै प्रशासनिक भवन र गुरु महाराज आश्रम पनि निर्माण भइसकेका छन् । समितिले गुरुयोजनाअनुसार आगामी दिन शान्ति आश्रम, सुमेरु पर्वत, ज्येष्ठ नागरिक मिलन केन्द्र, हरियाली बगैँचा निर्माण गर्ने लक्ष्य राखिएको छ ।

त्यस्तै शिवलीला, वन्यजन्तुको जीवनचक्र देखाउने प्रोजेक्टर आदि पनि निर्माण गरिने जनाइएको छ । त्यस्तै मूर्ति परिसरमा गणेश, मनोरेल, १०८ धारा, पाँच फिट अग्लो शिवलिङ्ग स्थापना गरिने संयोजक बरालले जानकारी दिए ।

कोरोनाका बाबजुद पनि स्वास्थ्य सजगता अपनाइ दैनिक २०–२५ जनाले निरन्तर काम गरेका कारण मूर्ति राख्न सम्भव भएको समितिले जनाएको छ । यहाँबाट फेवातालसहितको पोखराबजार, अन्नपूर्ण, माछापुच्छ«ेलगायत हिमशृङ्खला एकसाथ देख्न सकिन्छ । चाँडै नै कोरोना कहर हट्ने र पर्यटनमा आशा जगाउने बरालले बताए ।

तथ्याङ्कअनुसार पोखराका होटेल तथा रिसोर्टमा ७०० व्यवसायी आबद्ध छन् । यस व्यवसायमा पर्यटन व्यवसायीको आफ्नो लगानी ५० अर्ब छ भने बैंकको लगानी ७५ अर्ब छ । यस व्यवसायबाट १२ हजार २९८ जनाले रोजगारी पाएका छन् । त्यस्तै रेष्टुरेन्ट तथा बारतर्फ १०० जना व्यवसायी आबद्ध छन् । यसमा रु एक अर्ब व्यवसायीको आफ्नै लगानी छ भने तीन अर्ब बैंकको लगानी छ । ट्रेकिङ एजेन्सिजतर्फ १५९ व्यवसायी आबद्ध भएका छन् र यसमा व्यवसायीको आफ्नै रु ३२ करोड लगानी छ । यसमा ४२ करोड ९७ लाख ६० हजार बैंकको लगानी छ । यसबाट एक हजार २७२ जनाले रोजगारी पाएका छन् । ट्राभल्स एजेन्सिजतर्फ १८१ जना व्यवसायी आबद्ध भएकामा उनीहरूको आफ्नै लगानी रु ७९ करोड ७५ लाख ५० हजार छ भने रु १८ करोड ६० लाख ९५ हजार बैंकको लगानी छ ।

पोखरामा पर्यटन सम्बद्ध प्याराग्लाइडिङ तथा अल्ट्रालाइट, ट्रेकिङ इक्युपमेन्ट सप, इम्ब्रोडयरी एण्ड गार्मेन्ट सप, पर्यटक यातायात व्यवसायी, गाउँ पर्यटन, पर्वतारोहण आदिमा व्यवसायीको करौडौँ रुपैयाँ लगानी छ भने बैंकको लगानी पनि त्यत्तिकै रहेको छ । पोखरामा सबै किसिमका पर्यटनसम्बद्ध व्यवसायमा झण्डै २१ हजार जनशक्तिले रोजगारी पाएका छन् । कोरोना कहरका कारण व्यवसाय नै बन्द हुँदा यस क्षेत्रमा खटिने जनशक्तिलाई कसरी जोगाउने भन्ने चिन्ता छ ।

               

               

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट