बैठक माओवादीको, चर्चा माधवको – प्रचण्डले दुख देखाएपछि माओवादी नेताहरू भावुक !-Sutra News

बैठक माओवादीको, चर्चा माधवको – प्रचण्डले दुख देखाएपछि माओवादी नेताहरू भावुक !

आइतबार, १७ साउन २०७८

आइतबार, १७ साउन २०७८

आइतवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल अप्ठेरोमा परेको सुनाए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा फर्कौं भने सम्मानजनक हैसियत नपाइने, बाहिर बसौं भने दलबिहीन भइने अवस्थाबाट नेता नेपाल गुज्रिरहेको बताउँदा उपस्थित स्थायी कमिटी सदस्यहरू मौन भएर सुनिरहेका थिए ।



एक नेताले सूत्रन्यूजसँग भने – ‘अध्यक्ष कमरेड प्रचण्डले कमरेड माधव नेपालका बारेमा गरेको ब्रिफिङ साँच्चिकै दुखलाग्दो थियो । एमालेमा पनि फर्किन नसक्ने र सरकारमा पनि आउन नसक्ने दोहोरो तनावमा कमरेड माधव हुनुहुन्छ । उहाँले संविधान र व्यवस्था जोगाउन निकै ठूलो भूमिका त खेल्नुभयो, तर आफ्नै राजनीतिलाई दाउमा राख्नुभएको छ ।’

बैठकमा प्रचण्डले आफ्नो र नेपालबीच भएको कुराकानी पनि सुनाएका थिए । ‘म दिनहुँजसो उहाँलाई भेटिरहेको छु । गठबन्धन सरकारमा सहभागी हुन पनि आग्रह गरिरहेको छु । उहाँमा सरकारमा सहभागी हुने चिन्ता भन्दा धेरै आफ्नै पार्टीको चिन्ता लिइरहनु भएको छ,’ प्रचण्डको भनाइ उदृत गर्दै ती नेताले भने ।

आजको स्थायी कमिटी बैठकमा प्रचण्डले नेता नेपाललाई आफ्नै समूहका अन्य नेताहरूले धोकासमेत दिएको बताए । ‘पार्टी सम्मानजनक हैसियतमा एक होला भनेर उहाँले आफ्ना विश्वासपात्रहरूलाई कार्यदलमा राख्नुभएको थियो । कतिपय आफ्नै साथीहरूले ओलीसँग बार्गेनिङ गरिरहेको थाहा पाएर उहाँ दुखी हुनुहुन्छ,’ बैठकमा प्रचण्डले भनेका थिए ।

प्रचण्डले नाम नै नलिएर भीम रावल, योगेश भट्टराई, गोकर्ण बिष्ट जस्ता नेताहरूले नेता नेपालको भावना नबुझी ओलीसँग एकताका लागि हतारिएकोसमेत बताए । ‘परिस्थिति सोचेजस्तो छैन,’ प्रचण्डले बैठकमा भने, ‘उहाँहरू अन्तिमसम्म आफ्नो पार्टी एकताका लागि लाग्नुभएको मैले पाएको छु । मन्त्रिमण्डलमा तत्काल सहभागी नहुने बताउनुभएको छ । अब यसबारेमा प्रधानमन्त्री शेरबहादुर देउवा र जसपा अध्यक्ष उपेन्द्र यादवसँग नयाँ हिसाबले कुराकानी गर्नुपर्ने भएको छ ।’

आज स्थायी कमिटी बैठकअघि प्रचण्ड नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । कोटेश्वरमा दुवै नेताबीच करीब डेढ घण्टा भेटवार्ता भएको थियो । भेटवार्तामा नेता नेपालले आफू निकै अप्ठेरो परिस्थितिबाट गुज्रिएको भन्दै प्रचण्डलाई तत्काल सरकारमा सहभागी हुन आग्रह नगर्न जोड दिएका थिए ।

नेता नेपाललाई साथ दिएका २२ जना सांसदहरूले भने तत्काल सरकारमा जान सुझाव दिएका छन् । उनीहरूबीच हुने नियमित भेटघाटमा सरकारमा स्वतन्त्र हैसियतले जानबाट कसैले नरोक्ने भन्दै निर्णय गर्न ढिला नगर्न सुझाउने गरेका हुन् । तर नेता नेपालले भने तत्काल सरकारमा सहभागी हुँदा कारवाही गरेर पार्टीबाट निकाल्न ओलीलाई सहज हुने बताउने गरेका छन् ।

सरकारमा जान नेता नेपाललाई दबाब आएको कुरा प्रचण्डले आजको बैठकमा पनि ब्रिफिङ गरेका थिए । ‘४/५ जना सांसदहरूले मलाई र देउवालाई भेटेर हामी स्वतन्त्र हिसाबले भएपनि सरकारमा सहभागी हुन्छौं भनिरहनु भएको छ । हामीले चाहिँ माधवले के सोच्नुभएको छ, त्यसका आधारमा अघि बढ्नुपर्छ भनेर सम्झाउने गरेका छौं,’ प्रचण्डले बैठकमा भने ।

यद्यपी संसदीय दलमा बहुमत जुटाउन सकिने सम्भावनाका बारेमा नेपाल समूहका नेताहरूबीच कुराकानी हुने गरेको छ । एमालेका कूल १२१ सांसदमध्ये नेपाल पक्षमा जम्मा ३० को हाराहारीमा मात्र खुलेका छन् । ओली समूहमा रहेका प्रेम आले, किसान श्रेष्ठ लगायतका केही सांसदहरूले भने थप १५/२० सांसदहरू आफ्नो पक्षमा ल्याउन सकिने ब्रिफिङ गर्ने गरेका छन् ।

संसदीय दलमा बहुमत पुर्याएर ओलीलाई नेताबाट हटाउन कम्तीमा पनि ६१ सांसदहरूको साथ चाहिन्छ । अहिल्यै उक्त संख्या नेपाल पक्षमा पुग्छ भन्ने कुनै सम्भावना देखिन्न । नेता नेपाललाई साथ दिएका केही सांसदहरूसँग उनको मनमुटाव शुरू भइसकेको छ ।

सांसद मेटमणि चौधरी भन्छन् – ‘हामी अझै १०/१५ दिन हेर्छौं । हाम्रो पक्षमा बहुमत पुग्ने स्थिति भयो भने ओलीलाई कारवाही गरेर हटाउने हो । होइन भने हामी आफ्नो हिसाबले अघि बढ्छौं । ओली अध्यक्षबाट नहटेसम्म एकता हुँदैन ।’

आजै बस्ने एमालेको स्थायी कमिटी बैठक यो समाचार टिप्पणी तयार गर्दासम्म शुरू भएको छैन । एकताका लागि अन्तिम प्रयास गर्ने भन्दै शनिवार बैठक २४ घण्टाका लागि स्थगित भएको थियो । विघटित कार्यदलका सदस्यहरू अनौपचारिक छलफलमा व्यस्त देखिन्छन् ।

एमालेको दुवै समूहबीच एकताको प्रयास भइरहँदा ओलीले भने नेता नेपाल कुनै हालतमा एमालेमा नरहने घोषणा गरिरहेका देखिन्छन् । उनले नेता नेपाललाई गद्दार, पार्टी र आन्दोलनविरोधीको ट्याग लगाउन छोडेका छैनन् । आज बस्ने स्थायी कमिटी बैठकमा नेपाल समूह उपस्थित नभए उनीलगायत देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई कारवाही गर्ने तयारी ओलीको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट