धितोपत्र बोर्ड अध्यक्षलाई कारबाही गर्न युनियनको माग, यस्तो छ कारण-Sutra News

धितोपत्र बोर्ड अध्यक्षलाई कारबाही गर्न युनियनको माग, यस्तो छ कारण

आइतबार, १७ साउन २०७८

आइतबार, १७ साउन २०७८

नेपाल धितोपत्र बोर्डमा क्रियाशील कर्मचारी युनियनले बोर्ड अध्यक्ष भीष्मराज ढुङ्‍गानालाई कारबाही गर्न माग गरेको छ।



बोर्ड नेपालको पुँजीबजार तथा वस्तु विनिमय बजारको नियामक निकायका रुपमा रहेको,सरकारबाट जारी धितोपत्र ऐनबाट स्थापित, गहन जिम्मेवारी बोकेको एक विशिष्ट प्रकृतिको संस्था भएको उल्लेख गर्दै युनियनले गलत काम गर्नेलाई कारबाही गरी संस्थाको गरिमा जोगाउन माग गरेको हो।

युनियनका अध्यक्ष राजुबहादुर जिसी र वरिष्ठ उपाध्यक्ष गौरव विष्टले संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा बोर्डको संस्थागत गरिमालाई आँच आउन नदिन उक्त कार्यमा संलग्नहरुलाई तत्काल निलम्बन गर्न आग्रह गरिएको छ।

विद्यमान कानुनका आधारमा सम्बन्धित निकायले बजारको पारदर्शीता र स्वच्छता कायम राख्नका लागि अविलम्ब छानबिन कार्य अगाडि बढाइ दोषी देखिएकालाई हदैसम्मको कारबाही गर्न युनियनले माग गरेको छ।

देशको कूल गार्हस्थ उत्पादन बराबरकै बजार पुँजीकरण भएको देशको धितोपत्र बजारको नियामक निकाय स्वच्छ, पारदर्शी, गतिशील र लगानीकर्ताको हित संरक्षणमा लाग्नुपर्नेमा त्यसो हुन नसकेको विज्ञप्तिमा भनिएको छ।

अर्थ मन्त्रालयले यही साउन १३ गते बोर्डलाई तीन दिनभित्र गलत जवाफ दिन भन्दै स्पष्टीकरण सोधेको थियो। यसको जवाफ दिने समयसीमा आजसम्म रहेको छ। विज्ञप्तिमा भनिएको छ, ‘बुक बिल्डिङमार्फत् धितोपत्र जारी गर्ने प्रक्रियामा गएको संस्थाको धितोपत्र र सोसँग निहित सम्वेदनशील जानकारीका आधारमा आफ्नो निकट पारिवारिक सदस्यका नाममा धितोपत्र खरिद गर्नु धितोपत्र बोर्डको लब्ध प्रतिष्ठित अध्यक्ष तथा सञ्चालकका रुपमा गम्भीर विचलन भएको निष्कर्ष निकालेको छ।’

बोर्डका अध्यक्ष ढुङ्‍गानाले छोरी रेविका ढुङ्‍गानाको नाममा निटक भविष्यमा नै साधारण सेयर बिक्री गर्न लागेको एक कम्पनीको १० हजार कित्ता सेयर खरिद गरेको पाइएको छ। यस्तै, नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले समेत श्रीमतीको नाममा सेयर खरिद गरेको पाइएको छ। अर्थले बोर्ड र स्टक दुवैलाई स्पष्टीकरण सोधेको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट