काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुनका लागि नेकपा माओवादी केन्द्रले आफ्नो भागका मन्त्रीको नाम टुंगो लगाउने गृहकार्य गरिराखेको छ ।
माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अनुसार पार्टीबाट मन्त्री बन्नका लागि ठुलै संख्यामा नेताहरुको लाम लागेको छ ।
केही दिन अगाडी प्रचण्डले आफ्न पार्टीका धेरै नेताहरुले मन्त्रीको पद लिन चाहेको कारण आफू तनावमा रहेको कुरा सार्वजनिक रुपमा नै उल्लेख गरेका थिए ।
कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारमा जान माओवादीमा एक दर्जन आकांक्षी छन् ।
सरकारमा सहभागी हुने नेताहरुमा अमनलाल मोदी, शिवकुमार मण्डल ,मातृका यादवदेवेन्द्र पौडेल, हरिबोल गजुरेल, देव गुरुङ, हरिराज अधिकारी लाई मन्त्री बनाउन दाहालको चाहना भएको बताइएको छ ।
मन्त्रीहरुको अन्तिम नामको टुंगो लगाउनका लागि आज माओवादीले दिउँसो ३ बजे स्थायी कमिटीको बैठक बोलाएको थियो । प्रचण्डको व्यस्तताका कारण आजको स्थायी कमिटीको बैठक स्थगित भएको छ ।