उकुसमुकुसमा बादल : के खेलिरहेको छ उनको मनमा यतिबेला ?-Sutra News

उकुसमुकुसमा बादल : के खेलिरहेको छ उनको मनमा यतिबेला ?

सोमबार, १८ साउन २०७८

सोमबार, १८ साउन २०७८

रामबहादुर थापा ‘बादल’ नेपालको राजनीतिमा चर्चित नाम हो । उनको चर्चा त्यतिबेला बढी भयो, जतिबेला सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताउने निर्णय गर्दा उनले एमाले रोजे । पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि बादल तत्कालीन नेकपा अध्यक्ष केपी शर्मा ओलीतिर लागेका थिए ।



भाषण र वक्तव्यबाजीमा खासै चासो नदेखाउने बादललाई प्रतिनिधि सभा विघटनपछि देश दौडाहा गर्न लगाइयो । प्रत्येक दिनजसो उनलाई मंचमा बोलाएर भाषण गर्न लगाउने ओली नै थिए । भाषणका क्रममा बादल कतिपय ठाउँमा विवादितसमेत भए । त्यतिबेलाका गृहमन्त्री बादलले दिएको ‘मांसाहारी आन्दोलन गर्नेलाई चिडियाखानामा लगेर राख्ने’ धम्की सर्वाधिक चर्चाको विषय बनेको थियो ।

बादललाई खासमा ओलीले नेकपा एकीकरणकै मोडालिटीमा जाने र सह-अध्यक्ष दिने प्रस्ताव गरेका थिए । कमिटीहरूमा निश्चित प्रतिशतका हिसाबमा बादल पक्षीय नेता कार्यकर्ता राख्ने सहमति भएको थियो । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताउने निर्णय नगर्दासम्म ओलीले नेकपाको आधिकारिकता आफूले पाउने र बादलले सम्मानजनक हैसियत पाउने सहमति भएको थियो ।

जब प्रतिनिधि सभाको पहिलो विघटन बदर भयो र एमाले ब्युँतियो, तब बादललाई ओलीले दिने भनेको भागबण्डा र सह-अध्यक्ष को ललीपप पनि  पग्लिदै गयो । बादल माओवादी केन्द्रमा फर्किनै नसक्ने गरेर एमाले बनिसकेका थिए । उनले आफूनिकटस्थहरू मार्फत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि कुराकानी गरिरहेका थिए ।

उनलाई माओवादी केन्द्रभित्र लिन प्याओवादी भएको आरोप लगाइने गरिन्छ । २/२ पटक प्रतिनिधि सभा विघटन जस्तो प्रतिगामी कदमलाई साथ दिएका बादलले यतिबेला के सोचिरहेका होलान् ?

बादलसँगै एमाले बनेका माओवादी केन्द्रका चार नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा र प्रभु शाहले आफूलाई माओवादी केन्द्रकै सांसद दाबी गर्दै सर्वोच्च अदालतबाट कारवाही फिर्ता हुनुपर्ने मागसहितको रिट पेश गरेका छन् । उनीहरूले कहिले माओवादी केन्द्र अवैध भएको र खारेज गर्नुपर्ने भन्दै निर्वाचन आयोग पुगेका छन् भने कहिले माओवादी केन्द्रकै सांसद हौँ भन्दै अदालत पुगेका छन् ।

माओवादी केन्द्रकै कारवाहीमा परेर राष्ट्रिय सभा सदस्यबाट हात धोएका बादल यतिबेला भने मौन छन् । उनले माओवादी केन्द्रका नेताहरूलाई गाली गर्दैनन् । जारी एमालेको स्थायी कमिटी बैठकमा यदाकदा झुल्किने गरे पनि उनलाई कसैले सम्बोधन गर्न लगाउँदैन ।

राष्ट्रिय सभाबाट बर्खास्त भएपछि खालि रहेको सिटमा भएको उपनिर्वाचनमा ओलीले बादललाई नै उठाएका थिए । बादल हारे र हारको कारक एमाले नै रह्यो । खिमलाल देवकोटाले बाजी मारे ।

अहिले एमाले न एकता, न विभाजन भएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष ओलीबीच कुराकानी मिलिरहेको छैन । विवाद समाधानका निम्ति दश सदस्यीय कार्यदलसमेत बनेको थियो तर त्यसले निर्माण गरेको दश बुँदे सहमति कार्यान्वयन हुन सकिरहेको छैन ।

सर्वोच्च अदालतले पार्टीलाई एकतापूर्वको अवस्थामा पुर्याइदिएको थियो, तर ओलीले त्यसपछि एकलौटी निर्णय गर्दै आएकोमा नेपाल पक्ष रुष्ट छ । नेपाल पक्षले बादललगायत माओवादी केन्द्रबाट गएका नेताहरूलाई अवैध मानेको छ ।

एमालेमा रहेका पूर्वमाओवादी नेताहरूबीच पनि हार्दिकता नभएको बताइन्छ । सबैले ओलीसँग एक्लाएक्लै डील गरेर एमाले प्रवेश गरेका थिए । त्यसैले सामूहिक डील हुन पाएको छैन । बरियातालाई लिएर पनि नेताहरूबीच रस्साकस्सी चलिरहेको छ ।

बादलले यतिबेला माओवादी केन्द्रमै फर्किने चाहना देखाएको निकट स्रोतको दाबी छ । विभाजित एमालेमा राजनीतिक भविष्य देखेका छैनन् बादलले । तर माओवादी केन्द्रमै फर्किन पनि उनलाई गाह्रो छ । उनलाई अप्ठेरो समयमा पार्टीमाथि गद्दारी गरेको आरोप लागेको छ । त्यहाँमाथि प्रचण्डको नेतृत्वमा उनले आफूलाई सुरक्षित महसुस गर्न छोडेको निकै पहिलादेखि हो ।

यद्यपि बादललाई तत्कालीन माओवादी विभाजन गर्न सघाउने पम्फा भुसाल, देव गुरुङलगायतका नेताहरू भने माओवादी केन्द्रमै रहेकाले यता फर्किन सजिलो जस्तो पनि देखिन्छ ।

यतिबेला बादलले सोचेको अर्को कुरा हो, यदि एमालेको विवाद मिलिहाल्यो भने आफ्नो बरियता के हुन्छ ? पार्टीमा अहिले ओलीपछि वामदेव गौतमको बरियता छ । त्यसपछि ईश्वर पोखरेल छन् भने बादलको बरियता चौथो छ । यदि नेपाल र झलनाथ खनाल पार्टीमा फर्किने हो भने र राष्ट्रपतिको कार्यकाल सकिएपछि विद्या भण्डारीसमेत सक्रिय राजनीतिमा आउने हो भने बादल निकै पर घचेटिने छन् ।

यदि एमालेको विवाद मिलेन भने पनि आगामी चुनावमा बादलले आफ्नो भविष्य राम्रो देखेका छैनन् । समानुपातिकमा रहँदा पार्टीभित्रैबाट आलोचना हुने र प्रत्यक्षबाट टिकट पाएपनि अन्तर्घात हुने बादलले राम्रोसँग बुझेका छन् ।

त्यसो भए विकल्प के त ? बादल तत्काल कुनै निष्कर्षमा पुग्नुअघि धेरै सोच्ने गर्छन् । अहिले नै उनले केही निर्णय गरिसकेका छैनन् । एमालेको महाधिवेशनसम्म उतै अड्किने र त्यसपछि एउटा निर्णयमा पुग्ने बादलको विचार छ । उनीसँग छुट्टै विचार समूह बनाएर एमालेभित्रै संघर्ष गरिरहने, छुट्टै पार्टी गठन गर्ने या माओवादी केन्द्रमा फर्किने सीमित विकल्प बाँकी छन् ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट