साउने मेलाले शिवालय क्षेत्रमा चहलपहल-Sutra News

साउने मेलाले शिवालय क्षेत्रमा चहलपहल

सोमबार, १८ साउन २०७८

सोमबार, १८ साउन २०७८

साउने सोमबारका दिन मिथिला क्षेत्रका शिवालय परिसर भरिभराउ र सजिसजाउ छन् । जता फर्केर हेर्दा पनि राता, पहेंला वस्त्रले सजिएर शिव दर्शनका लागि ‘बोलबम’को नारा लगाउँदै हिँडेका भक्तजनको भीडले शिवालय परिसर रमणीय देखिन्छ । जिल्लाको टुटेश्वर वनक्षेत्र पनि आज पनि राताम्य देखिएको छ ।



टुटेश्वरचोकबाट आठ किलोमिटर सघन वनक्षेत्र छिचोलेर पुगिने बर्दिबास नगरपालिका–५ को टुटेश्वरनाथ मन्दिरमा  राता बस्त्रधारी यात्रुको आवतजावतले त्यहाँको परिवेश नै राताम्य देखिएको हो ।

मडाहा नदी किनारमै चुरे पहाडी शृङ्खलाको एउटा थुम्कोमा अवस्थित सो मन्दिर वरपर आज बिहानैदेखि हजारौँ भक्तजनको भीड लागेको छ । पूर्व–पश्चिम राजमार्गको टुटेश्वरचोकदेखि मन्दिरसम्मै पूरै सडक ढाकेर बोलबमको नारा लगाउँदै   राता, पहेंला वस्त्रमा सजिएर हिँडने भक्तजनको पङ्क्ति देखिएको छ ।

सौरमासअनुसार गत ४ गतेदेखि नै पहिलो सोमबार शुरु भए पनि मिथिलामा सौरमास र चन्द्रमास दुवैभित्र परेको साउने सोमबारको विशेष महत्व हुने भएकाले दर्शनार्थीको भीड साउन ११ गते सोमबारदेखि मात्र शुरु भएको हो ।

सौरमासको गणनाले आज साउनको तेस्रो सोमबार भए पनि सौरमास र चन्द्रमास दुवैभित्र परेको भने आज दोस्रो सोमबार हो । यसपाली सौरमासअनुसार साउन ४, ११, १८ र २५ गते चारवटा सोमबार, चन्द्रमासअनुसार  साउन ११, १८ र २५ गते गरी तीनवटा सोमबार परेको र दुवैमासमा तीनवटै अर्थात ११, १८ र २५ गते सोमबार  परेका छन् । 

सिमसिम पानी परेर  प्रचण्ड घामको ताप छलेकाले पनि आज दर्शनार्थीको सङ्ख्या निकै बढेको टुटेश्वर बस्तीका भुवनले बताए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट