दमक- नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले दार्चुलाका ३२ वर्षिय युवा जयसिंह धामीको न्याय माग्दै प्रदर्शन गरेको छ । भारतीय सुरक्षा फौज (एसएसवी) ले तुइनमार्फत महाकाली नदि तर्ने क्रममा तुइनको डोरी काटिदिएपछि धामी नदिमा खसेर बेपत्ता भएका थिए । भारतीय एसएसवीले नेपाली युवा जयसिंह धामीको अमानवीय हत्या गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले साउन १६ गते र आज १८ गते देशव्यापी विरोध प्रदर्शनको घोषणा गरेको थियोे ।
सोही अनुरूप १६ गते शनिबार पार्टीले सिमानाका काकडभिट्टामा बृहत् विरोध प्रदर्शन गरेको थियो भने आज दमकमा गरेको हो । दमकमा भएको उक्त विरोध र्यालीमा पार्टीका केन्द्रीय सदस्य एवम् झापा जिल्ला इन्चार्ज सुमन लिम्बू , पार्टी केन्द्रीय सदस्य एवम् इलाम जिल्ला इन्चार्ज सुमनसिंह पौडेल, जिल्ला सचिव प्रशान्त थापा, जिल्ला कार्यालय सचिव संजय राई लगायतका जिल्ला नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियोे ।
दमकको बसपार्कबाट सुरु भएको विरोध र्याली कार्यक्रम पशुहाट , गणतन्त्र चोक हुँदै आकाशेपुल, गोर्खा डिपार्टमेन्ट हुँदै पुनः गणतन्त्र चोकमा आएर कोणसभामा परिणत भएको थियोे । उक्त र्यालिमा विभिन्न नारासहितका प्लेकार्डहरू समेत प्रदर्शन गरिएको थियोे । र्यालिमा जयसिंहलाई न्याय दे, भारतिय हस्तक्षेप बन्द गर, दलालहरू होसियार, एमसिसी सम्झौता खारेज गर, भारतीय एसएसबी मुर्दावाद, नेपालीहरूको जिबन रक्षा गर , घटनाको सत्यतथ्य छानबिन गर, बैज्ञानिक समाजवाद जिन्दावाद, एकिकृत जनक्रान्ती जिन्दावाद लगायतका नारा लगाइएको थियोे ।
उक्त कोणसभालाई नेपाल कम्युनिस्ट पार्टीका जिल्ला कार्यालय सचिव संजय राईले सञ्चालन गरेका थिए भने सभालाई केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज सुमन लिम्बूले सम्बोधन गरेका थिए ।
कार्यक्रम सञ्चालनका क्रममा भारतीय एसएसवीले अमानवीय तरिकाले हत्या गरिएका जयसिंहलाई सहिद घोषणा गर्न माग गरेका छन् । आफूहरूले देश र जनताको हितका लागि कुरा उठाउँदै गर्दा, जनताको जीवन रक्षाका निमित्त आवाज उठाउँदै गर्दै, साम्राज्यवादीहरूको विरोध गर्दैगर्दा सत्ता सञ्चालक दलालहरूले प्रतिबन्ध समेत लगाएको स्मरण गर्दै बैज्ञानिक समाजवाद प्राप्तिका निमित्त कटिबद्ध भएर लड्ने उद्घोष गरेका थिए ।
त्यस्तै कोणसभालाई सम्बोधन गर्ने क्रममा पार्टी केन्द्रीय सदस्य एवम् झापा जिल्ला इन्चार्ज सुमन लिम्बूले जयसिंहको हत्याको सत्यतथ्य छानबिन गरी हत्यारा एसएसवीलाई हदैसम्मको कारबाहीको माग गर्दै नेपाल र नेपालीमाथि पटकपटक भारतीयहरू हस्तक्षेप हुँदासमेत भारत र अमेरिकी साम्राज्यवादका दलाल नेताहरूले चुँइक्क नबोलि बसेको बताए ।