दार्चुला घटनाप्रति गृहमन्त्रीको आश्वासन- सरकार जस्तोसुकै कदम चाल्न पनि तयार छ-Sutra News

दार्चुला घटनाप्रति गृहमन्त्रीको आश्वासन- सरकार जस्तोसुकै कदम चाल्न पनि तयार छ

मंगलबार, १९ साउन २०७८

मंगलबार, १९ साउन २०७८

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले भारतीय सुरक्षाकर्मीले तुइन काटेपछि महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको खोजीमा नेपाल र भारतका सुरक्षाकर्मीहरु परिचालन भएको बताएका छन् ।



मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

सरकारले सत्यतथ्य बुझ्नका लागि जस्तोसुकै कदम पनि चाल्न तयार रहेको उनले बताए ।

‘नेपाल सरकारले जे तथ्य हो, त्यही नै सार्वजनिक गर्ने छ। र त्यो तथ्यका लागि नेपाल सरकारले पूर्ण अडान लिनेछ। जुनसुकै कदम चाल्न पनि नेपाल सरकार तयार छ ।’

साउन १५ गते दार्चुलाको मालघाटमा महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएपछि स्थानीयवासी जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका बताइएको छ ।

सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको शुरुमै (एमाले) सांसदले घटनाबारे उठेर विरोध जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले (एमाले) सांसद गणेशसिंह ठगुन्नालाई बोल्न समय दिएका थिए ।

एमालेले घटनाबारे भारतसमक्ष औपचारिक विरोध दर्ता गर्नुपर्ने, घटनाका दोषी भारतीय एसएसबीलाई कारवाही गर्नुपर्ने, मृतकका आफन्तलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने मागसमेत गरेको छ ।

सांसद ठगुन्नाले आफन्तले भारतीय प्रहरी चौकीमा किटानी जाहेरी दिँदासमेत सुनुवाइ नभएको बताउँदै नेपाल सरकारले भने घटनालाई ढाकछोप गर्ने प्रयास गरिरहेको आरोप लगाएकी छन् । उनले दोषी भारतीय एसएसबीलाई मानवीय अपराध गरेको अभियोगमा कारवाही हुनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट