मेलम्ची नगरपालिकाको अपिल- उच्च जोखिमका घरमा बस्ने तयारी नगर्नुहाेस्-Sutra News

मेलम्ची नगरपालिकाको अपिल- उच्च जोखिमका घरमा बस्ने तयारी नगर्नुहाेस्

बुधबार, २० साउन २०७८

बुधबार, २० साउन २०७८

सिन्धुपाल्चोक- गत असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पुर्‍याएको बेला समेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको बेला मेलम्ची नगरपालिकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।



गत असार १ गते देखिनै नगरपालिकाको सबै संयन्त्र प्रयोग गरी नदी नियन्त्रणदेखि बस्ती जोगाउनसम्म अथक प्रयास गरेको नगरपालिकाद्वारा मंगलबार जारी अपिलमा भनिएको छ ।

बेलैमा सूचना आएकाले मानवीय क्षति हुन नपाएको भन्दै नगरपालिकाले खुशी व्यक्त गरेको छ । तत्कालका लागि सामूहिकरूपमा बासस्थानको व्यवस्था गरेको नगरपालिकाले १५ दिनसम्म इन्द्रेश्वरी माध्यमिक विद्यालयमा प्रभावितहरुलाई बासको व्यवस्था गरेको बताएको छ ।

ग्यास, चुलो, ओछ्याउने, भाँडाकुँडा र रासनसमेतको व्यवस्था गरी इच्छाएको सुरक्षित ठाउँमा स्थानान्तरण गर्न नगरपालिकाले भूमिका निर्वाह गरेको नगर प्रमुख डम्बर अर्यालले जानकारी दिए । साथै कुपनको व्यवस्था गरी एक महिनाका लागि खाद्यान्न वितरण गर्ने काम भएको उनले बताए ।

पहिरोको माथिल्लो भेगको अवस्थाको मुल्यांकन गर्दै सम्बन्धित विषय विज्ञहरुको निरन्तर सल्लाह र सुझावबमोजिम तल्लो तटीय क्षेत्रमा नदीको कटान रोकी क्षति न्यूनीकरण गर्ने काममा नगरपालिका निरन्तर लागिरहेको अपिलमा उल्लेख गरिएको छ ।

हालसम्म नगरपालिकामार्फत एक हजार २७८ थान ग्याविन बक्स, ४७८ टिप ढुंगा, सात वटा मेसिन लगातार एक महिनासम्म खोलामा आवश्यकताका आधारमा प्रयोग एवं परिचालन गरिएको नगरपालिकाले जनाएको छ । यस कार्यमा भएका खर्चहरु नगरपालिकाले अहिलेसम्म आफ्नो वेबसाइटमा सार्वजानिक गर्दै आएको अर्यालले बताए ।

बाढी प्रभावितहरुको सम्पूर्ण विवरण संकलन गरी नगर कार्यपालिकाको निर्णयानुसार प्रभावितहरुको वर्ग छुट्याएर रु २५ हजार, रु २० हजार, रु १५ हजार र रु १० हजारका दरले तत्कालका लागि प्रभावितहरुको बैंक खातामा जम्मा गर्ने कार्य सुरु भइसकेको जनाएको छ ।

अस्थायी आवास निर्माणका लागि नेपाल सरकारबाट प्राप्त हुने रु ५० हजार सम्झौता गरी प्रभावितहरुलाई वितरण गर्ने तयारी भइरहेको भन्दै नगर प्रमुख अर्यालले पुनर्निर्माणका लागि प्राप्त हुने रु पाँच लाख र बसोबासयोग्य जग्गा नहुनेका लागि थप रु तीन लाख समेत प्राप्त हुने सुनिश्चित भइसकेको बताए ।

प्रदेश सरकार, केन्द्र सरकार र सरोकारवाला निकायसँगको समन्वय र नगरपालिकाको आन्तरिक स्रोतको अधिकतम उपयोग गर्दै नगरपालिकाले आफ्नो तर्फबाट गर्नुपर्ने सम्पूर्ण काम गरिरहेको र गरिरहने प्रतिबद्धतासमेत नगर प्रमुख अर्यालद्वारा हस्ताक्षरित अपिलमा भनिएको छ ।

प्रभावितको राहत तथा उद्धारका लागि नगरपालिका व्यक्ति, संघसंस्था, समूहसँग जतिबेला पनि छलफलका लागि तयार रहेको उल्लेख गरिएको छ । नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट