मेरो नियुक्तिबारे मलाई केही थाहा छैन – कुलमान-Sutra News

मेरो नियुक्तिबारे मलाई केही थाहा छैन – कुलमान

बुधबार, २० साउन २०७८

बुधबार, २० साउन २०७८

मंगलवार लगभग सबै सञ्चारमाध्यमहरूले प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गर्न ठाडो आदेश दिएको समाचार प्रकाशित भए । प्रधानमन्त्रीको सचिवालयबाट आएको यो सूचनालाई धेरैले प्राथमिकताका साथ समाचार बनाएका थिए ।



गत साल भदौ २९ गते आफ्नो ४ वर्षे कार्यकाल सकाएर प्राधिकरणबाट विदा भएका कुलमानलाई पुनः प्राधिकरणमै नियुक्ति गर्नुपर्छ भन्दै सडक प्रदर्शन पनि भएका थिए । देशभरिबाट लोडसेडिङ हटाउन प्रमुख भूमिका खेलेका कुलमानलाई हटाएर निमित्त कार्यकारी निर्देशकका रूपमा तत्कालीन केपी ओली सरकारले लेखनाथ कोइरालालाई नियुक्त गरेको थियो ।

आफ्नो कार्यकाल सकिएर स-सम्मान प्राधिकरणबाट विदा भएका कुलमान एक वर्षपछि पुनः चर्चामा आएका छन् । हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन दबाब दिइएको समाचार एकातिर छ भने अर्कोतिर पुनः कुलमानलाई नै ल्याउने सरकारी स्रोतले दाबी गरेको छ ।

यसबारेमा सोध्दा कुलमानले आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिए । सञ्चारमाध्यमहरूले त तपाईलाई नियुक्ति दिइसके नि ! भन्ने सूत्रन्यूजको प्रश्नमा कुलमानले भने – ‘मलाई केही थाहा छैन ।’ कुलमान आफ्नो चार वर्षे कार्यकाल सकेर प्राधिकरणबाट बाहिरिएका हुन् भने त्यसपछि कार्यकारी प्रमुख भएका शाक्य ४ वर्षका लागि नियुक्त भएका हुन् ।

ऊर्जा मन्त्रालय स्रोत भन्छ, ‘मन्त्रीज्यू (पम्फा भुसाल) र हितेन्द्रदेव शाक्यको कुराकानी मन्त्रालयमै भएको हो । सरकारले खटाए तपाईं अन्त जानुहुन्छ भनेर मन्त्रीज्यूले सोध्नुभएको थियो । शाक्यले सरकारले जे काम अह्राउँछ, त्यही गर्छु भन्नुभएको रहेछ । त्यसैलाई लिएर शाक्यको राजीनामा मागियो भन्ने चर्चा चलेको हो ।’

यद्यपि कुलमानलाई प्राधिकरणमै ल्याउने चाहना देउवाले राखेका छन् । सामाजिक सञ्जालमा कुलमानलाई ‘उज्यालोको प्रतीक’ पनि भन्ने गरेको पाइन्छ । अहिले अघोषित लोडसेडिङ भइरहेको र प्राधिकरण घाटामा चर्चा चलिरहेका बेला कुलमानलाई प्राधिकरणमा ल्याउँदा सरकारले आफूलाई राजनीतिक फाइदा हुने ठानेको देखिन्छ ।

सरकारले शाक्यलाई अन्त कतै पठाउने, जान नमाने स्पष्टिकरण सोध्नेसम्मको तयारी गरिरहेको छ । यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा तत्कालीन कार्यकारी निर्देशक मुकेश काफ्लेलाई सरकारले स्पष्टिकरण सोधेर हटाएको थियो ।

त्यतिबेला चिलिमे जलविद्युत कम्पनीबाट प्राधिकरणको केन्द्रीय कार्यालयमा तानिएर जिम्मेवारीविहीन बनाइएका कुलमान घिसिङलाई शर्माले नेपाल विद्युत प्राधिकरण शर्माले प्राधिकरणमा ल्याएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट