नारायणकाजीलाई किन अचानक ओलीको माया लाग्न थाल्यो ?-Sutra News

नारायणकाजीलाई किन अचानक ओलीको माया लाग्न थाल्यो ?

बुधबार, २० साउन २०७८

बुधबार, २० साउन २०७८

बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा नेकपा माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिनिधि सभा विघटन तत्कालीन प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली एक्लैले चाहेर नभएको दाबी गरेका छन् ।



यसअघि ओलीको कटू आलोचक रहेका नेता श्रेष्ठ प्रतिनिधि सभा विघटनमा त्यस अगाडिका सरकार र नेताहरू पनि जिम्मेवार रहेको बताएका हुन् ।

‘यो मुलुकको यो बेहालका निम्ति केपी ओली मात्रै जिम्मेवार हुनुहुन्थेन । सबै राजनीतिक पार्टीहरु, नेताहरु, योभन्दा अगाडि विभिन्न ढंगले सरकार चलाउनेहरु पनि एक वा अर्को रुपमा, एउटा वा अर्को हदसम्म जिम्मेवार थिए ।’

ओलीले संविधान र देशको स्वाधीनता नै मास्न खोजेको आरोप लगाउने श्रेष्ठ ओलीप्रति किन नरम भए भन्ने चर्चा राजनीतिक वृत्तमा हुन थालेको छ ।

श्रेष्ठले थपे – ‘अबको निकास आफूलाई बदलेर मात्र आउँछ, पार्टीहरुले, नेताहरुले र सरकारले आफूलाई बदलेर नयाँ ढंगले काम गर्ने तत्परता प्रस्तुत गर्नुपर्छ । अहिलेको सरकारलाई विशेषत प्रतिगमन विरोधी राजनीतिक पार्टीका नेताहरुलाई आफूलाई बदल्न र नेपाली जनताले अपेक्षा गरेअनुसार नयाँ ढंगले काम गर्न म अपील गर्न चाहान्छु ।’

उनले प्रतिनिधि सभा विघटनमा ओली मात्र दोष नभएको बताएर आफ्नै पार्टीमा असन्तुष्टि पोखेको चर्चा चलेको छ । उपप्रधानमन्त्री पद लिएर सरकारमा माओवादी केन्द्रको नेतृत्व गर्दै जाने उनको चाहनामा पार्टीकै अन्य नेताहरूले ‘ब्रेक’ लगाइदिएपछि श्रेष्ठ फायर भएको बताइन्छ ।

माओवादी केन्द्रका एक नेताले सूत्रन्यूजसँग भने – ‘उहाँ(श्रेष्ठ)का आफ्नै असन्तुष्टि होलान्, त्यही असन्तुष्टि राष्ट्रिय सभामा प्रकट गर्नुभएको रूपमा मैले बुझेको छु ।’

श्रेष्ठ सरकारमा जान चाहेको भएतापनि संविधान बाधक बनेको छ । संविधानको धारा ७८ को ४ मा प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधिसभाको कार्यकालमा मन्त्री पदमा नियुक्तिका लागि योग्न नहुने उल्लेख छ ।’

श्रेष्ठ २०७४ सालको आम निर्वाचनमा गोर्खा क्षेत्र नम्बर २ मा डा. बाबुराम भट्टराईसँग पराजित भएका थिए ।

त्यसपछि उनी नेकपाको तर्फबाट राष्ट्रिय सभाको उपनिर्वाचनमा निर्वाचित बने । संविधानले संघीय संसद सदस्य मन्त्री बन्न सक्ने भएता पनि प्रतिनिधि सभाको निर्वाचन हारेको व्यक्ति त्यस्तो प्रतिनिधि सभाको कार्यकालभरि मन्त्री पदमा नियुक्तिका लागि योग्य नहुने उल्लेख छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट