अगस्टको अन्त्यसम्म माल्दीभ्सका ९० प्रतिशतलाई खोप लगाइसक्ने तयारी-Sutra News

अगस्टको अन्त्यसम्म माल्दीभ्सका ९० प्रतिशतलाई खोप लगाइसक्ने तयारी

बुधबार, २० साउन २०७८

बुधबार, २० साउन २०७८

माले- माल्दीभ्सका राष्ट्रपति इब्राहिम सोलिहले जतिसक्दो चाँडो सबै नागरिकलाई खोप लगाइसक्न सम्बन्धित मन्त्रीलाई निर्देशन दिएका छन् ।



कोरोना भाइरसको महामारीका कारण थप मानवीय क्षति हुन नदिनका लागि खोप लगाउने अभियानलाई तीव्रता दिन उनले आग्रह गरे । 

राष्ट्रपति सोलिहले सरकारी निकायका सबैलाई उच्च प्राथमिकताका साथ कोरोना भाइरसविरुद्धको खोप लगाउने व्यवस्था गर्न पनि निर्देशन दिए ।

राष्ट्रपति कार्यालयद्वारा सोमबार जारी निर्देशनमा सरकारी सबै कर्मचारीलाई यही अगस्ट १५ सम्मका कम्तीमा एउटा खोप लगाइसक्न आग्रह गरिएको छ ।

जनस्वास्थ्य महानिर्देशक मैमुना अबुबाकुरले पनि खोप अभियानमा सहयोग गर्न सरकारी संस्था तथा निकाय, कम्पनीलगायतलाई अनुरोध गरेका छन् । 

माल्दीभ्समा कोरोनाभाइसविरुद्धको खोप लगाउने अभियान गत फेब्रुअरीदेखि नै सुरु भए पनि पूरा हुन सकेको छैन ।

यही अगस्टको अन्त्यसम्ममा खोप लगाउन योग्य कम्तीमा पनि ९० प्रतिशतलाई खोप लगाइसक्ने उद्देश्य राखिएको अधिकारीहरुले बताएका छन् । अहिलेसम्म खोप लगाउन योग्य ७० प्रतिशतले भने खोप लगाइसकेका छन् ।

देशभरिका तीन लाख २५ हजार ६० जनाले पहिलो मात्रै खोप लगाएका छन् भने दुई लाख ७४ हजार ९४९ जनाले दुवै खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट