शान्ति मिसनमा जान लिइने परीक्षाको प्रश्नपत्र पहिल्यै डीएसपीको घरमा पुगेपछि…-Sutra News

शान्ति मिसनमा जान लिइने परीक्षाको प्रश्नपत्र पहिल्यै डीएसपीको घरमा पुगेपछि…

बिहिबार, २१ साउन २०७८

बिहिबार, २१ साउन २०७८

संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ ।



यूएन मिसनको प्रि–स्याट परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको आशंकापछि प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डीआइजी) वसन्त लामाको नेतृत्वमा छानबिन समिति बनाएर अनुसन्धान थालेको हो । गत १५ र १६ साउनमा प्रधान कार्यालय तथा सातवटै प्रदेश प्रहरी कार्यालयमा यूएनमा जाने प्रहरी कर्मचारीका लागि परीक्षा सञ्चालन हुँदै थियो । परीक्षामा प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)सम्मका २ हजार ४ सय परीक्षार्थी सहभागी हुँदै थिए ।

तर, १६ गतेको परीक्षा सुरु हुनु अघिल्लो दिन नै प्रश्नपत्र बाहिरिएपछि प्रहरी प्रधान कार्यालयले रातारात नयाँ प्रश्नपत्रको सेट तयार गरेर परीक्षा सञ्चालन गर्नुपरेको थियो । सोही कारण परीक्षा निर्धारित समयभन्दा ढिला सुरु भएको थियो । तर, १५ गतेको परीक्षा भने पुरानै प्रश्नबाट भएको थियो । सो परीक्षाको भने प्रश्नपत्र आउट भए-नभएको खुलेको छैन । प्रश्नपत्र लिक भएपछि प्रधान कार्यालयले यूएन शाखासँग जोडिएका प्रहरीमाथि निगरानी र सोधपुछ बढाइएको जनाएको छ । सो शाखाका केही प्रहरी भने नियन्त्रणमा समेत रहेको उच्च स्रोतको दाबी छ ।

छानबिन समितिले यूएन शाखाकै डीएसपी वासुदेव पाठक, तालिम केन्द्रमा कार्यरत अर्का डीएसपी रुपेश खड्का, प्रहरी निरीक्षक दिनेश पुनलगायतको संलग्नताको आशंकामा छानबिन गरिरहेको स्रोत बताउँछ । डीएसपी खड्का पनि परीक्षार्थी थिए । उनी केही समयअघिसम्म यूएन शाखामा नै कार्यरतसमेत रहेको बताइन्छ ।

हाल प्रहरी प्रधान कार्यालयले कसरी प्रश्नपत्र बाहिरियो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ । सो विषयमा यूएनशाखा प्रमुख एसपी अनुपम राणासँगसमेत जानकारी मागिएको छ ।यो समाचार राजधानी दैनिकमा छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट