काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसले समयमा नै महाधिवेशन गर्न नसके केन्द्रीय समितिको वैधानिकता समाप्त हुने बताएका छन् ।
पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको पौडेल समूहको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भदौ २३ गतेसम्म पनि १४ औँ महाधिवेशन गर्न नसके केन्द्रीय समितिको वैधानिकता सकिने बताएका हुन् ।
उनले समयमा नै महाधिवेशन गर्नका लागि अहिल्यैबाट गृहकार्य सुरु गर्नुपर्ने बताएका छन् । उनले भने, ‘अहिले नै हुँदैन भन्न सकिँदैन । ट्राइ त गर्नु पर्यो । सुरु गर्नुपर्यो । निर्वाचन समितिले प्रक्रिया छोट्याएर पनि गर्न सक्छ ।’
आज वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री सिंह, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू बलबहादुर केसी र मिनेन्द्र रिजालबीच छलफल भएको थियो।
नेताहरुको ढिलासुस्तीका कारण काँग्रेसको महाधिवेशन समयमा नै नहुने निश्चित भइसकेको छ।