सरकारमा जाने उल्लु काम हामीबाट हुँदैन – भीम आचार्य-Sutra News

सरकारमा जाने उल्लु काम हामीबाट हुँदैन – भीम आचार्य

बिहिबार, २१ साउन २०७८

बिहिबार, २१ साउन २०७८

नेकपा एमालेका माधव नेपाल समूहका नेता भीम आचार्यले सरकारमा जाने ‘उल्लु’ काम आफूबाट नहुने बताएका छन् ।



बिहीवार बुद्धनगरस्थित क्वालिटी बैंकटमा बसेको नेपाल समूहको भेलाको बीचमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टी प्रतिपक्षमा बस्ने र आफूहरू सत्तामा जाने काम ‘उल्लु काम’ भएको टिप्पणी गरेका हुन् ।

‘पार्टी चाहिँ प्रतिपक्षमा बस्ने अनि हामी सत्तामा जाने जस्तो उल्लु काम हामी गर्दैनौँ । राजनीतिक र संवैधानिक रुपमा पनि यस्तो बेठीक काम कम्तीमा हामीबाट हुने छैन,’ आचार्यले भने ।

उनले एमालेको माधव समूहकै कारण मन्त्रिमण्डल बिस्तार नभएको भनाईको खण्डनसमेत गरे । ‘मन्त्रिमण्डल बिस्तारमा उहाँहरूकै कारण ढिलाई भएको हो, हाम्रो कारणले होइन,’ आचार्यको भनाइ छ ।

बुद्धनगरमा  नेपाल समूहले आगामी रणनीति तय गर्दैछ । नेपाल समूहका केन्द्रीय सदस्यहरू भेला भएका छन् । बैठकमा योगेश भट्टराई र सुरेन्द्र पाण्डे भने अनुपस्थित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट