सत्ता गठबन्धन कार्यदलद्वारा साझा कार्यक्रम र सरकार सञ्चालन कार्यविधि तयार-Sutra News

सत्ता गठबन्धन कार्यदलद्वारा साझा कार्यक्रम र सरकार सञ्चालन कार्यविधि तयार

बिहिबार, २१ साउन २०७८

बिहिबार, २१ साउन २०७८

सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि तयार गरेको छ ।



प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको कार्यदलको बैठकले सो कार्यविधिको अन्तिम खाका तयार पारेको हो ।

उक्त कार्यविधि सत्ता साझेदार दलका शीर्ष नेतालाई छिट्टै बुझाइने छ । “चाँडै नै प्रतिवेदन शीर्ष नेतृत्वलाई बुझाउँछौँ”, कार्यदलका सदस्य सचिव केशवराज जोशीले भन्नुभयो । कार्यविधिलाई अन्तिम रुप दिन कार्यदलको आज बिहानैदेखि बैठक बसेको थियो ।

उक्त बैठकमा नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका कार्यदलका संयोजक पूर्णबहादुर खड्कासहित कांग्रेसका डा मिनेन्द्र रिजाल र रमेश लेखक, नेकपा (माओवादी केन्द्र) का देव गुरुङ र वर्षमान पुन तथा जनता समाजवादी पार्टी (जसपा) का राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादव सहभागी छन् ।

कार्यदलले गठबन्धन सरकारको प्राथमिकता, सरकारको नीति तथा कार्यक्रम, सङ्घीयताको कार्यान्वयनलगायत विषय समेटेर साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ । सत्तारुढ शीर्ष नेतृत्वले छलफल गरी सो प्रतिवेदन सार्वजनिक गर्ने सदस्य सचिव जोशीले जानकारी दिए । न्यूनतम साझा कार्यक्रमको टुङ्गो लगाएपछि केही दिनभित्र सरकारले पूर्णता पाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट