विश्व खेलकुदको कुम्भमेला ओलम्पिक सम्पन्न, ३३औं संस्करणको ओलम्पिक फ्रान्सको पेरिसमा हुने-Sutra News

विश्व खेलकुदको कुम्भमेला ओलम्पिक सम्पन्न, ३३औं संस्करणको ओलम्पिक फ्रान्सको पेरिसमा हुने

सोमबार, २५ साउन २०७८

सोमबार, २५ साउन २०७८

काठमाडौं- कोरोना भाइरसको त्रासका बाबजुत सतर्कता अपनाउँदै बन्द रंगशालाबाटै विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक खेलकुद आइतबार जापानको टोकियोमा सम्पन्न भएको छ ।



गत वर्ष नै हुनुपर्ने ओलम्पिक कोरोनाका कारण एक वर्षपछि सारिँदा कोरोनाको त्रास नहटे पनि विभिन्न सतर्कता अपनाउँदै जापानको राजधानी टोकियोमा एक भव्य कार्यक्रमबीच ‘टोकियो ओलम्पिक २०२०’ को भव्य समापन भएको हो । टोकियो ओलम्पिकमा २ सय ६ राष्ट्रसँगै शरणार्थी टोलीका ११ हजार ३ सयभन्दा बढी एथलिटले ३३ खेलमा विभिन्न ३ सय ३९ इभेन्ट्समा प्रतिस्पर्धा गरेका थिए ।

अब ३३औं संस्करणको ओलम्पिक फ्रान्सको पेरिसमा सन् २०२४ मा हुनेछ । ओलम्पिकको उद्घाटनमा नेपालबाट पौडी खेलाडीद्वय गौरिका सिंह र एलेक्स शाहले नेपालको झन्डा बोकेका थिए । समापनमा नेपालको झन्डा भोलेन्टरले बोकेका थिए ।

विश्व खेलकुदको कुम्भमेलामा वर्चस्व जमाउने अमेरिका यसपटक पनि पदक तालिकामा शीर्षस्थानमा रह्यो । अमेरिकाले ३९ स्वर्ण, ४१ रजत र ३३ कास्य गरी कुल १ सय १३ पदक जित्न सफल भयो । चीनले अन्तिम दिन स्वर्ण जित्न नसकेपछि दोस्रो स्थानमा चित्त बुझाउन बाध्य बन्यो ।

चीनले ३८ स्वर्ण, ३२ रजत र १८ कास्य गरी ८८ पदक जित्न सफल भयो । आयोजक जापान २७, स्वर्ण १४ रजत र १७ कास्य गरी कुल ५८ पदक जित्दै तेस्रो स्थानमा रह्यो । दक्षिण एसियाली राष्ट्रबाट भारतले १ स्वर्ण पदकसहित कुल ७ पदक जितेको छ ।

टोकियो ओलम्पिकमा नेपालबाट ४ खेलका पाँच खेलाडीले प्रतिस्पर्धा गरेका थिए । तर, सदा झैं टोकियो ओलम्पिकमा पनि नेपालको चुनौती सहभागितामै सीमित रह्यो । सहभागी पाँचै खेलाडीले दोस्रो चरणको यात्रा तय गर्न सकेनन् ।

तीन खेलाडीले राष्ट्रिय कीर्तिमान बनाउनु टोकियो ओलम्पिकमा नेपालको उपलब्धि रह्यो । पौडीका गौरिका सिंह र एलेक्जेन्डर शाह (एलेक्स) तथा सुटिङकी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएका थिए । जुडोकी सोनिया भट्ट र एथलेटिक्सकी सरस्वती चौधरीको फितलो प्रदर्शन रह्यो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट