ग्रीसको इभियामा भीषण डढेलो-Sutra News

ग्रीसको इभियामा भीषण डढेलो

मंगलबार, २६ साउन २०७८

मंगलबार, २६ साउन २०७८

इभिया, ग्रीस- ग्रीसको इभिया टापुको जङ्गलमा लागेको भीषण डढेलो नियन्त्रण गर्न अग्निनियन्त्रकहरु दिनरात सक्रिय रुपमा लागेका छन् । इभिया टापुमा एक सातादेखि भिषण आगलागी भइरहेको छ ।



डढेलोका कारण हजारौं स्थानीयबासी नराम्रोसँग प्रभावित भएका छन् । ग्रीसको सरकारी टेलिभिजन टिभी अर्टले प्रशारण गरेका दृश्यहरु निकै भयानक देखिएका छन् । यी दृश्यमा अग्निनियन्त्रकहरु र स्वयंसेवीहरु इस्टानिया शहर नजिकैको एउटा ठूलो रुखको आड लिएर निरन्तर आगो निभाउने कार्यमा खटिएको देखाइएको छ ताकि त्यस ठाउँबाट डढेलो गाउँतिर फैलन नपाओस् ।

त्यस रुखको नजिकै एउटा विशाल आगोको ज्वाला देखिएको छ । डढेलो निरन्तर अघि बढेको भन्दै स्थानीय अधिकारीहरुले एभ्गारिया गाउँका बासिन्दालाई अन्यत्र जान आग्रह गरेको छ । तर धेरैजसो स्थानीयबासी अटेर गरी आफ्नै घरमा बस्न जिद्दी गरिरहेको एक स्थानीय अधिकारीले बताए ।

मध्य ग्रीसका गभर्नर फानिस स्पानोसले धेरैजसो गाउँबासीहरु अन्यत्र स्थानान्तरित हुन इच्छुक भए पनि केहीले आगो निभाउने कार्यमा सेवा गरिरहेको बताए । स्पानोसले स्थानीयबासीको सहयोगका कारण धेरै गाउँ डढ्नबाट जोगिएको बताए ।

डढेलोका कारण इभिया, अथेन्स र ग्रीसका अन्य भागका सयौं घर ध्वस्त भइसकेका छन् । गत जुलाईको अन्त्यदेखि शुरु भएको डढेलो रोकिने अझै सम्भावना देखिएको छैन ।

आगोबाट बच्न हजारौं मानिस अन्यत्र पलायन भएका छन् । सोमबार, आगो निभाउने कार्यमा सरकारले पर्याप्त ध्यान नदिएको भन्ने विपक्षीको आलोचनाबीच प्रधानमन्त्री किरियाकोस मिचोटाकिसले राष्ट्रकासामु क्षमा मागेका छन् ।

‘‘राज्यका तर्फबाट भएका कमजोरीप्रति म व्यक्तिगत रुपमा क्षमा माग्दछु,’’ मिचोटाकिसले टेलिभिजनमा सम्बोधन गर्दै भने । ग्रीसका अधिकारीहरुका अनुसार इभियामा झण्डै ६५० जना अग्निनियन्त्रकहरु अहिले आगो निभाउने कार्यमा खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट