सत्ता टिकाउन लुम्बिनीमा पोखरेलको शंकास्पद गतिविधि !-Sutra News

सत्ता टिकाउन लुम्बिनीमा पोखरेलको शंकास्पद गतिविधि !

बुधबार, २७ साउन २०७८

बुधबार, २७ साउन २०७८

नेकपा माओवादी केन्द्रका सांसद कूलप्रसाद केसीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै लुम्बिनीमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावमाथि आज छलफल हुने कार्यक्रम रहेको छ ।



मुख्यमन्त्री पोखरेलले आफ्नो कुर्ची जोगाउन हिजैदेखि शंकास्पद गतिविधि गरिरहेको विपक्षी गठबन्धनका नेताहरूको आरोप छ ।

स्रोतका अनुसार जसपाबाट मुक्त भएका नेता राजेन्द्र महतो लुम्बिनीमा सक्रिय बनेका छन् । उनले विपक्षी गठबन्धनका सांसदहरूलाई आर्थिक प्रलोभन देखाइरहेका छन् ।

त्यस्तै भारतीय दूतावासका कर्मचारी पनि सक्रिय बनेको माओवादी केन्द्रका एक सांसदले सूत्रन्यूजलाई बताए ।

सामाजिक सञ्जालमा निकै आलोचित बनेका मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी गठबन्धनले बहुमत जुटाएर अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनसामू अविश्वासको प्रस्तावसँगै संसदको विशेष अधिवेशन आह्वान गर्न समावेदन गरिएको थियो । शेरचनले सोही समावेदनअनुसार संविधानको धारा १८३ को उपधारा ३ बमोजिम साउन २७ गते प्रदेशसभा आह्वान गरेका हुन् ।

८० सदस्यीय प्रदेशसभा भएको लुम्बिनीमा एमाले एक्लैको सांसद संख्या जम्मा ३८ रहेको छ । त्यस्तै माओवादी केन्द्रका १९, कांग्रेसका १९, जसपाका ३ र राष्ट्रिय जनमोर्चाका १ सांसद रहेका छन् ।

लुम्बिनीमा सरकार बनाउन ४१ सांसद चाहिन्छ । अहिले विपक्षी गठबन्धन एक भएको अवस्थामा मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव सोझै पारित हुने देखिन्छ ।

आज बोलाइएको संसदको विशेष अधिवेशनविरुद्धको रिट आजै सर्वोच्च अदालतमा न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा परेको छ । 

एमालेले १२ बजेसम्म अदालतको फैसला कुर्ने र त्यसपछि केही निर्णय गर्ने बताइएको छ । 

उपनिर्वाचनमा नेकपाबाट निर्वाचित सांसद बिमला वलीलाई आफ्नो पक्षमा ल्याउन मुख्यमन्त्री पोखरेलले निकै कसरत गरेका थिए । उनीमाथि सांसद वलीलाई अपहरण र बन्धक बनाएको आरोप लागेको छ ।

उनले बिहीवार पत्रकार सम्मेलन गरेर आफू माओवादी केन्द्रमै रहेको सार्वजनिक गरिसकेकी छन् ।

यससँगै माओवादी केन्द्रका सांसद कूलप्रसाद केसीको मुख्यमन्त्री बन्ने बाटो सहज भएको छ । गण्डकीमा विपक्षी गठबन्धनले तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हटाएर कृष्णचन्द्र नेपाली पोखरेललाई बनाएको थियो ।

गण्डकीपछि लुम्बिनीबाट एमालेको सरकार खोस्ने योजना शुरू भएको थियो । अब मुख्यमन्त्री पोखरेलको दिनगन्ती शुरू भएको लुम्बिनीका एक सांसदले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट