काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छादारले ललिता निवासकाे सरकारी जग्गाको नाममा आफ्नो ५० वर्षे राजनीतिक इतिहास नै समाप्त पार्ने गरि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूमाथि दुश्मनी साँध्ने काम गरेको आरोप लगाएका छन् ।
बुधबार विश्व आदिवासी दिवसको अवसर पारेर पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधान लेखनमा महत्त्वपूर्ण योगदान पुर्याउने आफूमाथि संविधानकै आडमा दुश्मनी साँध्ने काम तत्कालीन राज्यले गरेको भन्दै आक्रोश पोखेका हुन् ।
उनले भने, ‘तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले जग्गाको लालपूर्जा बाँडछ ? मोहीको जग्गा छुट्याउने दायित्व मेरो थियो ? त्यो दायित्व भूमि सम्बन्धि मन्त्रालयको होइन र ? तर राज्यले मलाई तह लगाउने नाममा ललिता निवास जग्गा प्रकरणमा फसायो । मलाई थाहा पनि थिएन् सो विषयमा । तर मलाई तह लगाउने नाममा अख्तियार लगाइयो । मेरो राजनीतिक जीवनलाई समाप्त पार्न खोजियो । यी सब काम संविधान, कानुनको आडमै गरिएको हुनाले यसमा रहेको त्रुटी सच्याउने काम नेपाली कांग्रेसले गर्नुपर्छ । आदिवासी, जनजातिको छोरालाई फसाउने संविधानका ती प्रावधान हटाउनु पर्छ ।’
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवामाथि गलत सन्देश दिनेगरी प्रचार गरेको भन्दै आपत्ति जनाए ।