लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत भएको छ ।
बुधबार प्रदेश प्रमुख अमिक शेरचनले पोखरेलको राजीनामा स्वीकृत गरेका हुन् ।
उनीविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्तावमाथि आज छलफल हुने कार्यक्रम रहेको थियो ।
संसद बैठक बस्नुभन्दा अगाडि नै उनले राजीनामा दिएका हुन् ।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनसामू अविश्वासको प्रस्तावसँगै संसदको विशेष अधिवेशन आह्वान गर्न समावेदन गरिएको थियो । शेरचनले सोही समावेदनअनुसार संविधानको धारा १८३ को उपधारा ३ बमोजिम साउन २७ गते प्रदेशसभा आह्वान गरेका हुन् ।
८० सदस्यीय प्रदेशसभा भएको लुम्बिनीमा एमाले एक्लैको सांसद संख्या जम्मा ३८ रहेको छ । त्यस्तै माओवादी केन्द्रका १९, कांग्रेसका १९, जसपाका ३ र राष्ट्रिय जनमोर्चाका १ सांसद रहेका छन् ।
लुम्बिनीमा सरकार बनाउन ४१ सांसद चाहिन्छ । अहिले विपक्षी गठबन्धन एक भएको अवस्थामा मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव सोझै पारित हुने देखिन्छ ।